धरान : केन्द्रीय प्रविधि क्याम्पस हत्तिसारलाई त्रिविले उपलब्ध गराउनु पर्ने अनुदान र शैक्षिक प्रक्रियाका लागि पहल गरिदिन प्राध्यापक सङ्घ क्याम्पस इकाईले सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण गराएको छ ।

सङ्घका सभापति उपप्राध्यापक हेमन्त खनाल र कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले सोमवार काठमाण्डौं पुल्चोक मन्त्री निवासमा भेट गरी ध्यानाकर्षण पत्र बुझाउँदै आग्रह गरेका हुन । खनाल र कायस्थ क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन ।

ध्यानाकर्षण पत्रमा त्रिवि अनुदान आयोगबाट क्याम्पसलाई प्राप्त हुनुपर्ने एकमुष्ट अनुदान ‘ब्लक ग्राण्ट’ उपलब्ध नगराएको उल्लेख छ । त्रिविले उपलब्ध गराउनु पर्ने विद्यार्थीहरूको बीएस्सी न्युट्रिशन र डाइटेटिक्स विषयको एकेडेमिक ट्रान्सक्रिप्ट उपलब्ध गराएको छैन ।

बिएस्सी न्युट्रिशन र डाइटेटिक्स विषय एनएचपीसीमा दर्ता नहुँदा सम्बद्ध विषयका योग्य जनशक्तिको वृत्ति विकासमा अवरोध विद्यमान रहेकोले यथाशीघ्र दर्ताको लागि पहल गरिदिन मन्त्री समक्ष आग्रह गरिएको छ ।

अनुदान निकासा नहुँदा तथा शैक्षिक प्रक्रिया अवरुद्ध हुँदा क्याम्पसले समस्याको सामान गर्नु परिरहेकाले सङ्घीय मन्त्रीसँग पहलका लागि आग्रह गरिएको अध्यक्ष खनालले बताए ।

Hattisar-PR-2