धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको पुरानो शाख गुम्दै गएकोमा चिन्ता जनाउँदै पुरानो शाख फर्काउन धरानबासीलाई आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय धरानमा नवनिर्मित अन्तर्राष्ट्रिय मापदण्डको हिरासत भवन उद्घाटन समारोहमा प्रमुख अतिथि उनले भने ‘धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको छ, धरानवासीमा फेरी पुरानो शाख फर्काउने दायित्व थपिएको छ ।’

मुख्यमन्त्री कार्कीले धर्म जाति सम्प्रदाय सबै कुरा छोडेर ‘म धराने नेपाली हुँ’ भन्ने सोचेर धरानको समृद्धि र विकासको लागेर त्यो शाख फर्किने बताए । उनले धरानको विकासमा प्रदेश सरकारबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले खेलकुद र शिक्षाको केन्द्रको रूपमा रहेको धरानमा विकास र संवृद्धिको ठुलो सम्भावना रहेको बताए ।

उनले पछिल्लो समय धरानको बिग्रँदो सामाजिक वातावरणप्रति चित्त नबुझेर हुन सक्छ यहाँबाट बसाइँसराई पनि भइरहेको सुनिएको कुरा उल्लेख गर्दै भन ‘यसलाई रोक्नु पर्छ, म जस्तोसुकै सहयोग गर्ने छु ।’ आपसी मतभेदहरू छन् भने त्यसलाई बिर्सिएर सबै धरानेहरु एक भएर अघि बढ्नु पर्ने उनले बताए ।

हिरासत भवनलाई नै पछिल्लो समय धरानको विकास, निर्माणमा आएको गतिरोध र ढिलासुस्तीको उदाहरण बनाउँदै मुख्यमन्त्री कार्कीले भने ‘सात सय दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन लाग्यो ।’

यसरी विकास अघि बढ्न नसक्ने बताउँदै यस्तो अवस्था यो देशभर पनि भएको बताए । ढिलासुस्तीलाई आजबाटै सच्याउने प्रतिबद्धता जनाउनु पर्ने बताउँदै भने ‘यस्तो मोडलबाट विकास हुन्न, सुधार गरेर लागौँ ।’

उनले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गरे । तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले सङ्घीय र कोशी प्रदेशमा नयाँ सरकार बनेपछि राजनीतिक स्थिरता कायम भएको जनाउँदै अब देश र प्रदेश दुवैको आर्थिक श्रोतहरू बढ्ने सङ्केत देखिएको बताए । भने ‘अब विकास निर्माणले गति लिने निश्चित भयो ।’

आज मुख्यमन्त्री कार्कीले उद्घाटन गरेको हिरासत भवन उनी आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा कार्कीले नै शिलान्यास गरेका थिए ।

भवन धराने जनता, विदेशमा रहेको धरानेहरु समेतको आर्थिक सहयोग तथा सङ्घीय, प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा निर्माण सम्पन्न भएको हो ।

hirasat-Bhawan-newHirasat-bhawan-2