इटहरी : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भेन्टिलेटर तथा बेड खरिदमा कुनै अनियमितता नभएको बताइएको छ ।

प्रतिष्ठानकी प्रवक्ता प्राध्यापक डाक्टर अन्जु प्रधानले प्रतिष्ठानको मातृशिशु भवनको लागि आवश्यक बेड तथा उपकरणहरू खरिदमा कुनै अनियमितता नभएको बताएकी हुन् ।

कपुरी न्यूजलाई जानकारी गराउँदै उनले भेन्टिलेटर खरिदमा तत्कालीन उपकुलपतिले छानबिन समिति गठन गरेको र बिड गर्ने कम्पनीलाई कारबाही प्रक्रिया अगाडी बढाउँदा अदालतको फैसलाले रोकेको बताइन् । २०८० फाल्गुन २१ गते राजपत्रमा सूचना प्रकाशित गरी मातृशिशु भवन निर्माणको म्याद २०८१ मङ्सिर मसान्त सम्म थप भएको उनको भनाइ छ ।

२०७९/ ८० को बजेट सिद्ध्याउन सामान खरिद गरिएको भन्ने भ्रम बाहिर आएको बताएकी उनले तत्कालीन अवस्थालाई मूल्याङ्कन गरेर भवन निर्माणको अन्तिम मिति २०७९ चैत मसान्त रहेको र नेपाल सरकारबाट बजेट आएपछि भदौमा सामान खरिद गरेर त्रुटि नगरेको जानकारी दिइन् ।

खरिद भएका भेन्टिलेटरहरू प्रतिष्ठान भित्र अन्य बिग्रिएका भेन्टिलेटरको ठाउँमा उपयोग भएको दाबी गरिएको छ । भवन निर्माण हालसम्म पनि नसकिएको हुँदा पछि सोही स्थानमा जडान गरिने बताइएको छ ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार १० देखी १५ प्रतिशत बेड आइसियु अनिवार्य भए पनि प्रतिष्ठानमा ९१३ बेडमा जम्मा ७४ वटा मात्र आइसियु रहेको बताइएको छ । सोही अनुसार भेन्टिलेटर खरिद प्राथमिकतामा परेको र त्यसमा पनि नेपाल सरकारको लगानी भएको उल्लेख गरिएको छ । कर्मचारीको तलब र सामान खरिदमा कुनै सम्बन्ध नरहेको प्रधानले प्रस्ट पारेकी छिन् ।