धरान : यसपालि हरितालिका तीजले खेलकुदलाई पनि छोयो । काठमाडौँ स्थित हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरू बिच ‘तीज स्पेशल टोर्नी २०२४’ बुद्धिचाल प्रतियोगिता आयोजना गरेर तीजलाई खेलकुद क्षेत्रमा प्रविष्टि गराएको छ ।

शुकबार हुने तीज स्पेशल टोर्नी र्यापीड चेसको एक दिने प्रतियोगिता थापाथली स्थित हिमालयन चेस एकेडेमीको चेस हलमा हुँदैछ ।

एकेडेमीकी संस्थापक मोनालिसा खम्बुका अनुसार प्रतियोगितामा ३० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालकी पहिलो राष्ट्रिय बुद्धिचाल विजेता मोनालिसा नेपाल बुद्धिचाल महासङ्घ उपमहासचिव, विश्व बुद्धिचाल महासङ्घ महिला आयोगकी सदस्य हुन ।

महिलाहरूको पर्व तीजमा चेलीहरू बुद्धिचालमा रमेर महिला सशक्तीकरणमा थप ऊर्जा प्राप्त गरुन् भन्ने उद्देश्यले गरिएको उनले बताइन् । मोनालिशाले भनिन् ‘स्विस प्रणाली अनुसार पाँच चरणमा हुने प्रतियोगितामा महिला खेलाडी मात्रै सहभागी हुन पाउनेछन् ।’ आर्बिटर लगायत प्राविधिक पक्ष पनि महिला नै हुनेछन् ।

‘तीज स्पेशल टोर्नी २०२४’ प्रतियोगितामा प्रत्येक खेलाडीले हरेक खेलमा १० मिनेटसँगै प्रतिमुभ १० सेकेन्ड उपयोग गर्न पाउनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडलसँगै आकर्षक पुरस्कार प्रदान गरिने छ ।

पोहोर २०८० चैत्र १ गते देशी शुरु भएको हिमालयन चेस एकेडेमीको यो प्रतियोगिता तेस्रो हो । यसअघि असारमा एसइई कप र साउनमा हिमालयन (फिडेका)े १०० औँ वार्षिकोत्सवमा गिनिज वर्ल्ड रेडक्रसको लागि प्रतियोगिता आयोजना गरिएको थियो ।

एकेडेमीले प्रशिक्षण र प्रतियोगितासँगै हप्ताको २ दिन विभिन्न कोर्समा ७३ जना खेलाडी विद्यार्थीलाई नियमित प्रशिक्षण गराउँदै आएको छ । एकेडेमीले चेसको अनलाइन ट्रेनिङ पनि सञ्चालन गरिरहेको छ ।