धरान : हरितालिका तीजको अवसरमा काठमाडौँ स्थित हिमालयन चेस एकेडेमीद्वारा शुक्रवार महिला खेलाडीहरू बिच आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ प्रतियोगिता विजेताको उपाधि शान्ति धिमालले चुमेकी छन् ।

उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन । स्विस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि ईसा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्वाधिक ५ अङ्कसहित च्याम्पियन भएकी हुन । ३० वर्षीया शान्ति अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५ औँ चेस ओलम्पियाड २०२४ खेल्ने नेपाली टिमकी खेलाडी पनि हुन ।

दुई वर्षअघि चेन्नाईमा भएको ४४ औँ ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौँ चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन् । निहाना श्रेष्ठ ४ अङ्कसहित उपविजेता भइन् । समान ४ अङ्क भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संजु तेस्रो भइन् । निहाना र अनैयाले एक मात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन् ।

हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोजित प्रतियोगितामा यू-१५ मा प्रज्ञा पन्त ९४ अङ्क०, यू-१३ मा एन्जल महर्जन ९४ अङ्क०, यू-११ मा नायुमा मगर ९४ अङ्क०, यू-९ मा प्रज्ना तुलाधर ९३ अङ्क० र यू-७ मा चार्वी खेम्का ९३।५ अङ्क० प्रथम भए । उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन् । ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २ं५ अङ्क बटुल्दै पहिलो भइन् ।

प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रिती राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक (लेक्चरर) विनिता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्यपदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतीज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गरे ।

गत चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रुपमा ७३ जना बालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ । उसले आयोजना गरेको तेस्रो प्रतियोगिता हो तीज चेस टोर्नी । उसले यसअघि एसईई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो ।

teej-winner-2