वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. २ पुनर्वासमा रहेको आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पुनः हरिकृष्ण भट्टराई सर्वसम्मत रूपमा निर्विरोध चयन भएका छन् ।

समितिको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट लगातार तेस्रो कार्यकालका लागि भट्टराई अध्यक्षमा चयन भएका हुन् । निर्वाचन समितिका संयोजक अमर कटुवालका अनुसार भट्टराईको अध्यक्षतामा ९ सदस्य कार्यसमिति र ३ सदस्य लेखा समिति सर्वसम्मत रूपमा चयन भएको छ।

समितिको उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा लालकुमार राई र कोषाध्यक्षमा दिलकुमारी मगर पुनः चयन भएका हुन् । त्यस्तै कार्यसमितिको सदस्यमा प्रह्लाद थापा, प्रेम प्रसाद दाहाल, दिलु गजमेर, लक्ष्मी श्रेष्ठ र बिर्खबहादुर खत्री चयन भएका छन् । समितिको  लेखा समिति संयोजकमा अर्जुन कार्की चयन भएका छन् । सदस्यमा लेखनाथ खतिवडा र कुमार विष्ट चयन भएका छन् ।

आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १०औँ साधारण सभा तथा तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको थियो । समितिले कार्यालयको सभाहलमा आयोजना भएको सभामा आर्थिक वर्ष २०८०/८१ को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

समितिको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार ७२ लाख ६३ हजार ९ सय ६४ रुपैयाँ बचत गरेको छ । समितिका सचिव लालकुमार राईले आयव्यय प्रस्तुत गरेका थिए । समितिको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा २० लाख ४८ हजार ५ सय ४० रुपैयाँ आय र १४ लाख ५६ हजार २ सय ५ रुपैयाँ व्यय गरी ५ लाख ९२ हजार ३ सय ३५ रुपैयाँ बचत गरेको छ ।

यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ सालको लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक अर्जुनकुमार कार्कीले प्रस्तुत गरेका थिए ।

साधारण सभामा कोसी प्रदेश सभा सदस्य ममता तामाङको प्रमुख आतिथ्यमा रहेको थियो । समितिका अध्यक्ष हरिकृष्ण भट्टराईको सभाध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वडा नं.२ का अध्यक्ष होमप्रसाद गौतम, तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ सुनसरीका अध्यक्ष डम्बर सिग्देलले शुभकामना मन्तव्य राखेका थिए ।

adarsha-khanepani