धरान : धरान-१७ का ३९ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले निषेधित लागुऔषधी सहित हिजो बुधवार विराटनगर–१६ बाट पक्राउ गरेको छ ।

उनलाई नेपाल-भारत सीमा क्षेत्र स्थित रानी इलाका प्रहरी कार्यालयको प्रहरी टोली पक्राउ गरेको हो । राजकुमारको साथबाट लागुऔषधी एभिल, डाइजेपाम, लुपीजेसीक, फेनारगन समेत १२ एम्पुल बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

यसैगरी रतुवामाई-१ र २ बाट प्रहरीले रतुवामाई-८ का २६ वर्षीय सुजन मोते र ३१ वर्षीय शिव कुमार लामिछानेलाई पक्राउ गरेको छ । उनीहरूबाट २ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

साथै उर्लाबारी-५ का ३० वर्षीय गणेश तामाङलाई ३ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । लागु औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी उदयपुर चौदण्डीगढी-३ का २३ वर्षीय पूरण राई र रतुवामाई-६ का २१ वर्षीय सङ्गम सुन्दासलाई लागुऔषधी सहित पक्राउ परेका छन् । उनीहरूको साथबाट ट्रमाडोल, भोमीने, प्रमेथ/लिसीटो समेत ८०० चक्की निषेधित औषधी बरामद भएको प्रहरीले जनाएको छ ।

झापाको शिवसताक्षी-२ का ३३ वर्षीय अर्जुनकुमार राईलाई ४ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैचा-५ का २१ वर्षीय श्याम कार्की १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । उनले इलाका प्रहरी कार्यालय लौकही सुनसरीले पक्राउ गरेको हो ।