इटहरी : कोशी प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी भएको छ । केन्द्रीय सत्ता गठबन्धन भएको लामो समयपछि काँग्रेसले ३ मन्त्री र एक राज्यमन्त्री सहित सरकारमा सहभागिता जनाएको हो ।

नवनियुक्त मन्त्रीहरूले शुक्रवार बिहानै शपथ ग्रहण गरिसकेका छन् । प्रदेश महामन्त्री तथा प्रदेशसभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा काँग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहबाट राई भौतिक पूर्वाधार मन्त्री र झापाका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

ताप्लेजुङका खगेनसिंह हङ्गामा उद्योग कृषि तथा सहकारी मन्त्री र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । मण्डल सुनसरी क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित सांसद हुन् । उनी केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको सिफारिसमा मन्त्री भएका हुन् ।

हङ्गामा केन्द्रीय सदस्य राजीव ढुङ्गाना निकट मानिन्छन् । तत्काल कोशी सरकारमा सभापति शेरबहादुर देउवा समूहका नेताहरूले मात्र जिम्मेवारी पाएका छन् ।

डाक्टर शेखर कोइरालाले दुई मन्त्री पाउनुपर्ने अडान राखेपछि कोशी सरकार विस्तार रोकिएको हो । हाल डाक्टर कोइरालाको मागलाई बेवास्ता गर्दै काँग्रेसको प्रदेश संसदीय दलले सरकारमा जाने निर्णय गरेको हो । काँग्रेसबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने बताइएको छ ।

Koshi-mantrimandal