धरान :  शनिबार कोशी सहित चार प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो चार र  राति दुई प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको हो ।

महाशाखाले शनिबार बिहान बुलेटिन जारी गरी दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

राति कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

बिहीबार र शुक्रबार धेरै भारी वर्षा भएपनि शनिबार धेरै भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका तराईका भूभागमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

शनिबार बिहान कोशी र मधेस प्रदेशमा साधारणतयाय बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानकै आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार  अहिले मनसुनी वायुसँगै बंगलाको खाडीको उत्तरपूर्व रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि देखिएको छ।

यी प्रणालीहरूको प्रभावका कारण दिउँसो र राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने भनिएको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।