धरान : हिजो शनिवार मध्यरात १२ बजे धरान-१५ सेउती खोलामा भेटिएको शव धरान-५ बिच देउरालीका ३५ वर्षीय लक्ष्मण बराइलीको रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश लिम्बुले बताएका छन् ।

बराइली पूर्व प्रहरी समेत हुन । डिएसपी लिम्बुले मृतक बराइलीले अत्यधिक मादक पदार्थ सेवन गरेकाले खोला तर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने आशङ्का गरेका छन् ।

मृतक बराइली धरान-१५ स्थित एक गृल उद्योगमा काम गर्दथे । कामबाट फर्कने क्रममा सेउती खोलामा उनलाई मृत अवस्थामा भेटिएको हो । शवको पहिचान रातको १२ बजे गरिएपछि शव पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ ।

घट्नाको विस्तृत विवरण पोष्टमार्टमको रिपोर्ट पछि मात्र आउने र घटना बारे अनुसन्धान भइरहेको डिएसपी लिम्बुले बताए ।

मृतकको बुवाले छोरा रातको ११ बजे सम्म घर नआएपछि खोज्ने क्रममा रातको १२ बजे तिर मृत अवस्था  छोराको शव खोलामा भेटिएको जानकारी दिए । उनका अनुसार छोरा मादक पदार्थ सेवन गर्दथे । तर छोराको शरीरमा चोटहरू देखिएकोले मादक पदार्थ खाएकै कारण मृत्यु भएको भन्न नमिल्ने उनले बताए । मृतक बराइलीका १ छोरा १ छोरी रहेका छन् ।

Dharan-dead-123dharan-dead-2