धरान : तेस्रो अन्तर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको फाइनल खेलमा सियोन स्कुल र प्रभात इङ्गिलस बोर्डिङ स्कुल बिच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

वर्षाको कारण आइतबार धरान-१६ रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा सियोन स्कुलले लोटस इङ्गिलस बोर्डिङ स्कुललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले दिल्ली पब्लिक स्कुललाई २६-२० अङ्कको अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेलको प्रत्येक क्वाटरमा सियोन स्कुल र लोटस स्कुलले ७-४, ८-२, ७-८ र १०-३ अङ्क जोडेको थियो । दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुल र दिल्ली पब्लिकले प्रत्येक क्वाटरमा ३-७, १०-०, ७-६ र ६-० अङ्क जोडेका थियो ।

प्रतियोगिताका उपाधि विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घको व्यवस्थापनमा आयोजित प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।सोमवार हुने समापन कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकाश मन्त्री पाँचकर्ण राई प्रमुख अतिथि रहने भएको छन् । फाइनल खेल अघि उनलाई व्यवस्थापन समितिले विद्यालय परिसर अवलोकन गराउने कार्यक्रम छ ।

फाइनल पुगेका प्रभात स्कुल र सियोन स्कुल बिच उपाधिका लागि सोमवार हुने खेल डिपो स्कुलको बास्केटबल कोर्टमा सञ्चालन हुने आयोजक डिपो स्कुलले जनाएको छ ।

तस्विरः विकास चाम्लिङ राई