धरान : ताप्लेजुङको फक्तालुङ गाउँपालिका-३ खेसेवामा शनिवार पहिरोसँगै झरेको ढुङ्गाले गुडिरहेको पिकअप भ्यानमा बज्रिदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फक्तालुङ-३ की २६ बर्षीया निर्मला गुरुङ छिन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएका अनुसार शनिवार दिउँसो साढे २ बजे ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सामान बोकेर फक्तालुङ जाँदै गरेको मे १ ज १३६२ नम्बरको पिकअप गाडीलाई बाटो माथिबाट पहिरो सँगै झरेको ढुङ्गाले किचेको थियो ।

उक्त घट्नामा गुरुङ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागी ताप्लेजुङ जिल्ला  अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पिकअप र चालक फाक्तालुङ-३ का रुपेश सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।