धरान : दशैं लगायतको चाडपर्व लक्षित धरानमा लगाइने गरिएको रमाइलो मेला/उत्सव विवादास्पद हुँदै आएको छ ।

एकथरी यही बेला चोरी, लुटपाट जस्ता आपराधिक घटनाहरू बढ्ने भएकाले त्यसलाई बढवा मिल्ने बताउँछन् । अर्का थरी चाडपर्वका बेला रमाइलो गर्ने अवसर जुट्ने, आर्थिक गतिविधि बढाउने मान्छन् ।

अघिल्ला वर्षहरूमा यस्तै पक्ष, विपक्षको मतान्तरमा राजनीतिक दलका युवाहरूले चासो बढाएपछि धरानमा दशैंमा रमाइलो मेला लाग्न बन्द भएको थियो ।

नगर प्रमुख साम्पाङको मेला लगाउने प्रस्ताव :

यसपालि भने नगर प्रमुख हर्क साम्पाङले आफैले भदौ २७ गतेको कार्यपालिका बैठकमा रमाइलो मेला नभनी ‘सस्तो दशैं बजार’ लगाउने प्रस्ताव पारित गरिदिन आग्रह गर्दै टेबुल गरेका थिए ।

उनको 'सस्तो बजार महँगोमा ठेक्का' लगाउने प्रस्ताव समेत थियो । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने मेला ५० लाखमा रुपैयाँमा ठेक्का लागे उपमहानगरपालिकालाई आम्दानी समेत हुने प्रमुख साम्पाङको भनाई थियो ।

उक्त प्रस्तावमा कार्यपालिका सदस्य सृजना नेपाल, १५ का वडाध्यक्ष नरेश ईवराम, वडा १७ का वडाध्यक्ष मनोज भट्टराई लगायतले मेला लगाउन नहुने धारणा राखेपछि उनको प्रस्ताव स्थगनमा रह्यो ।

कार्यपालिकाले प्रस्ताव अस्वीकृत गरे पनि प्रमुख स्तरीय निर्णयमा मेला लगाउने तयारी भइरहेको बुझिएको वडाध्यक्षहरूले बताएका छन् ।

कार्यपालिका सदस्यहरू भित्रै मतान्तर :

प्रमुख साम्पाङको मेला लगाउने प्रस्ताव पारित नभए पनि बैठकपछि मेला लगाउने/नलगाउने मतान्तर कार्यपालिका सदस्यहरू बिच बढेको पाइएको छ । मेला लगाउन हुन्छ र हुँदैन भन्ने कुरालाई कतिपयले राजनीतिक रूपमा पनि हेरेका छन् ।

नगर प्रमुख साम्पाङले आफै प्रस्ताव ल्याएकाले उनले आफ्नो एकल निर्णयमा ‘सस्तो बजार’ लगाउन महँगोमा ठेक्का दिन सक्ने अन्दाज गरेर कतिपय चुप बसेका छन् । चाडपर्वको निहुँमा कुनै संस्थालाई स्थानिय सरकारले मनोरञ्जनको नाममा स्वीकृति दिन सक्ने अवस्था पनि छ ।

कतिपय कार्यपालिका सदस्य मेला लगाउनु पर्ने ‘लबिङ’मा पनि लागिसकेको बताइन्छ । केही वडाध्यक्ष मेला लगाउनु पर्ने कुरामा खुल्न पनि थालेका छन् ।

मेला लगाउनु पर्छ: वडा २ अध्यक्ष रमेश राई 

वडा २ का अध्यक्ष रमेश राई खुलेरै मेला लगाउनु पर्ने पक्षमा लागेका छन् । उनले मेला लगाउँदा धरानको आर्थिक गतिविधिमा सुधार आउने बताए । उनले भने 'एकद्वार प्रणालीबाट मेला लगाउँदा विकृति आउँदैन ।’

मेला ‘सस्तो बजार’को उद्देश्यले लगाउनु पर्ने मेलामा मनोरञ्जनात्मक कार्यक्रम राख्नुपर्ने उनको भनाई छ । मेला ठेक्का लगाउने कुरामा उनको भनाई छ ‘सामान्य मान्छेले ५० लाख लगानी गर्न सक्दैन ।’

संस्थागत रूपमा मेला लगाउनु पर्ने बताउँदै उनले त्यसको लागि धरान सङ्गीत प्रतिष्ठान र सिल्भर ईन्टरटेन्मेन्टको सहकार्यमा जिम्मा लिन सकिने दाबी गरे । उनले भने ‘मेला लगाउने प्रस्ताव मेयरसाब र २/४ जना वडाध्यक्षको सहमतिमै कार्यपालिका बैठकमा टेबुल भएको हो ।’

मेला लगाउँदा सुरक्षा जोखिम बढ्छ : उपप्रमुख बेघा 

धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले धरानमा सुरक्षा जोखिम बढिरहेको बेला १ महिने मेला लगाउँदा थप जोखिम बढ्न सक्ने बताए । मेलाको जोखिमको जिम्मेवारी कसले लिने ?

उनले भने ‘मानवीय सुरक्षाको सम्पूर्ण जिम्मा कसैले लिने हो भने लगाउन हुँदैन भन्न सकिन्न ।’ उनले भने ‘सस्तो दशै मेला भने पनि खेल तमासा हाल्छन् नै, त्यसले गडबडी बढाउँछ ।’ मेलाले २/४ जनालाई कमाइको माध्यम होला, तर सर्वसाधारणको असुरक्षा बढ्छ ।

सस्तो बजार भन्दै अवरे रात सम्म मेला : वडाध्यक्ष ईवारम

वडा १५ का अध्यक्ष नरेशकुमार ईवारमले भने ‘धरान उपमहानगरपालिकाले सस्तो दशै बजार भनेर राती अबेर सम्म सञ्चालन हुने मेला लगाउने तयारी गरिएको छ ।’ 

सस्तो दशै बजार भन्ने अनि जुवा जन्य खेल र मदिराजन्य पदार्थ बिक्री वितरण गर्ने दिएर हुन्छ ? उनको प्रश्न छ । त्यस्तो मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने गर्दैन, मेलाले खराब कुरालाई प्रोत्साहित गर्ने उनको भनाई छ ।

उनले भने ‘मेयर साम्पाङले ५० लाखमा टेण्डर लगाएर रोटेपिङ, ब्रेक डान्स, रेल गाडी लगायत जोखिमपूर्ण खेल कुस्ती, जुवाजन्य गतिविधिहरू ल्याउने तयारी गरेका छन् ।’ कार्यपालिकाले अस्वीकार गरेको मेला नगर प्रमुख स्तरीय निर्णयद्वारा लगाउने तयारी रहेको चर्चा सुनेको उनले बताए ।

कार्यपालिकालाई अवज्ञा गरे प्रतिवाद हुन्छ : भट्टराई 

वडा १७ अध्यक्ष मनोज भट्टराईले कार्यपालिका हलमा मेला नलगाउने भनी निर्णय भएको बताउँदै भने ‘यदि मेयर स्तरीय निर्णयगरि मेला लगाएमा ‘प्रतिवाद’ हुनेछ ।’

उपमहानगरपालिकाले सुरक्षा दिन सक्छ भने मात्र मेला लगाउनु पर्ने बताउँदै उनले सुरक्षा संयन्त्र कमजोर रहेको अवस्थामा मेला लगाउन नहुने बताए ।

वडाध्यक्ष भट्टराईले भने ‘आपराधिक र चोरी नियन्त्रण गर्न नसक्ने अवस्थामा मेयर साम्पाङका २ जना आसेपासे मोटाउन मेला लगाउनु पर्ने ?’

जिल्ला प्रशासनको सार्वजनिक निर्देशन :

जिल्ला प्रशासन कार्यालय सुनसरीले मेला महोत्सव जस्ता क्रियाकलाप नगर्न नगराउन निर्देशन जारी गरेको छ । मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम लगायतका नाममा हुने विभिन्न गतिविधि नगर्न सूचना जारी गरेको हो ।

सूचनामा स्पष्ट रूपमा जोखिम पूर्ण मनोरञ्जनात्मक खेल रोटेपिङ, ब्रेक डान्स, रेल गाडी लगायत जोखिमपूर्ण खेल कुस्ती, जुवाजन्य गतिविधिहरू ? सञ्चालन नगर्नु नगराउनु भनिएको छ ।

राजनीतिक दलहरू मौन :

धरानमा मेला लगाउने कुरामा यसअघि राजनीतिक दलहरूले निकै चासो दिएर विरोध गर्दथ्यो । यसपालि भने दल सम्बद्ध युवा सङ्गठनहरूले पनि कुनै प्रतिक्रिया जनाएको पाइएको छैन ।

अघिल्ला वर्षहरूमा मेलाको विरोधमा सङ्घीय लिम्बुवान, साजवादी पार्टीका युवाहरूकै कारण स्वीकृत भएर लाग्न आँटेको मेला पनि रोकिएको थियो ।