धरान पछिल्लो युवा पुस्तामा र्‍यापर हपहपमा नेपाली संस्करणलाई गहिरो छाप बसाएका चर्चित र्‍यापर गायक भीटेन साङ्गीतिक प्रस्तुतिका लागि धरान आउने भएका छन् ।

लागु औषध दुर्व्यसन मुक्ति अभियानको क्रममा आर्थिक अवस्था कमजोर भएका धरानका प्रयोगकर्ताहरूको उपचारका लागि सहयोग जुटाउन ‘भिटेन लाइभ इन धरान’ कन्सर्ट आयोजना गर्न लागिएको आज सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

साङ्गीतिक कार्यक्रमको आयोजना धरान स्थापित समूहले आयोजना गर्न लागेको हो । कन्सर्ट असोज ५ गते धरान–१६ स्थित धरान रङ्गशालामा आयोजना गरिने समूहका अध्यक्ष सरल उदासले बताए ।

कार्यक्रममा भिटेन झैँ नमुना ब्यान्ड विराट चौक, प्याराडाइज नेपाल ब्यान्ड धरान, पुरानो कुपी ब्यान्ड धरान र मनाश्लु डान्स सेन्टरको प्रस्तुति पनि रहने बताइएको छ । अध्यक्ष उदासले भने ‘कार्यक्रममा भीटेनले डेढ घण्टा भन्दा बढी प्रस्तुति दिनेछन् ।’

उनका अनुसार कन्सर्टको आयोजना आर्थिक अवस्था कमजोर भई पूनःस्थापना उपचार नपाइरहेका लागुऔषध प्रयोगकर्ताहरूको सहयोग सङ्कलन गर्ने उद्देश्यले गरिएको हो । यसअघि पनि विभिन्न कार्यक्रमबाट सङ्कलित रकमबाट प्रयोगकर्ताको पूनस्थपाना उपचारमा सहयोग पुर्याउदैआएको अध्यक्ष उदासले बताए ।

पत्रकार सम्मेलनमा डिजे रे मगरले भीटेन अहिले विश्वमा सबै भन्दा बढी प्रस्तुति दिने नेपाल र्‍यापरको रूपमा चर्चित र व्यस्त रहेका सुपर स्टार भएको बताए । उनले भने ‘स्ट्रिटमा हुर्किएको केटो भीटेनको रूपमा चर्चित बनेको उदाहरण नयाँ पुस्ताका लागि प्रेरणाको पात्र बनेका छन् ।’

धरानमा लागु औषध विरुद्ध अभियानमा भीटेन ५ वर्षपछि दोस्रो पटक प्रस्तुति दिन आउने तयारी भएको बताउँदै उनले भने ‘कार्यक्रम बाट सङ्कलित रकमबाट आर्थिक अवस्था कमजोर भएका ४ जना सम्मको उपचारका लागि पूनःस्थापना केन्द्रमा व्यवस्था गर्नेछौँ ।’

‘भिटेन लाइभ इन धरान’ यहाँका लोकल ब्यान्डहरूको प्रोत्साहनका लागि पनि भएको बताउँदै उनले विदेशमा व्यस्त भीटेनको नेपालमा प्रस्तुति नै दुर्लभ हुन थालेको बताए । मगरले भने ‘सरदर अढाई वर्षमा एउटा कार्यक्रम मात्र भीटेनले नेपालमा दिन भ्याएका छन् ।’

सानै उमेर देखि हिपहप सङ्गीतमा रुचि राख्ने भीटेन हाल नेपाली हिपहप प्रेमी युवा पुस्ताको ढुकढुकी बन्न सफल भएका छन् । उनले गरिबी नामक गीतबाट नेपाली हिपहप, नेपहपमा प्रवेश गरेका थिए ।

त्यसपछि उनले खलासी नामक गीत सार्वजनिक गरेका थिए। हाल उनी नेपालका महँगा र्‍यापरहरुको  सूचीमा परेका छन् । ‘सिमसिमे पानी’ नामक गीतबाट उनी युट्युबमा छाए ।

भीटेनले ‘गरिबी’ आफ्नै जीवनको अभिव्यक्तिका रूपमा प्रस्तुत गरेको बताइन्छ  । उनको सामान्य किसिमको परिवार थियो । उनले काठमाडौँमा आज कमाउने, आजै खाने किसिमका धेरै मानिसहरू देखेँ पछि गरिबी गीत बनाएका थिए ।

उनको जन्ममा आमा/बाबुले राखिदिएको नाम समीर घिसिङ हो । गायनमा आएपछि उनका साथीहरूले जुराई दिएको नाम ‘भीटेन’बाट उनी प्रख्यात भए ।