धरान : धरानमा करिब २० हजारको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ । स्कुल जाने कक्षा ६ देखी १२ सम्मका विद्यार्थी गलत सङ्गतले दुर्व्यसनमा फस्ने गरेका छन् ।

आमाहरूले उनीहरूलाई बचाउन सक्ने भएकाले इलाका प्रहरी कार्यालय धरानद्वारा सोमवार आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रहरी निरीक्षक दिवस कुवर उक्त जानकारी दिएका हुन ।

धरानमा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतनाका धेरै कार्यक्रम भइरहेका छन् । तर लागुऔषध प्रयोगकर्ता र लागुऔषध कारोबारी सङ्ख्या भने बढेको बढेकै छ ।

यस्तो अवस्थामा छोराछोरीको व्यवहारसँगै उनीहरूको आनीबानीमा आउने परिवर्तनबाट सन्तानले कुन बाटो लिँदै छ भन्ने थाहा पाएर बेलैमा सच्याउन पर्ने सचेतना बढाउन प्रशिक्षण दिइएको हो ।

उपमहानगरपालिकाको बैठक कक्षमा समुदाय प्रहरी साझेदारी अभियानको प्रशिक्षणमा धरानका २० वटै वडाका आमाहरू धरान महिला सञ्जालले सहभागी गराएको थियो ।

इलाका प्रहरी कार्यालय धरानको आर्थिक वर्ष २०८०/०८१को तथ्याङ्क अनुसार धरानमा लागूपदार्थ दुव्र्यशनमा १०२ वटा मुद्दा दर्ता भएको छ । धरानमा लगभग २० हजारको सङ्ख्यामा लागूपदार्थ प्रयोगकर्ता रहेको अनुमान रहेको डिएसपी प्रकाश जबेगुले बताए ।

प्रशिक्षक कुँवरले भने ‘छोराछोरीको बारेमा आमाहरूलाई बढी जानकारी हुने भएकाले दुर्व्यसनीको बानी व्यवहार बारेमा जानकारी दिन आमाहरूलाई प्रशिक्षण दिनुपरेको हो ।’

उनले अहिले १३ वर्ष उमेरका बालबालिका लागूऔषध प्रयोगमा फस्ने गरेको बताए । कक्षा ६ देखि कक्षा १२ सम्मका धेरै विद्यार्थीहरू लागूऔषधको लतमा लागेको पाइने बताए ।

पछिल्लो समय भयानक बन्दै गएको लागूऔषध प्रयोगकर्ता र कारोबारीको सङ्ख्या घटाउन आमाहरू नै सजग हुनुपर्ने उनको भनाई छ ।

प्रशिक्षण कार्यक्रममा १५० जना आमाहरू सहभागी थिए । इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी प्रकाश जवेगुको सभापतित्वमा भएको कार्यक्रम भएको थियो । प्रहरीले स्कुल स्कुलमा लागू औषध सचेतना कार्यक्रमको आयोजना गर्दे आएको छ ।

laghuausad-jana-chetana