इटहरी : गत भदौ २८ गते शुक्रवार इटहरी उपमहानगरपालिका-१३ खनारकी २४ वर्षीय मेनुका दाहालका मृत्यु शङ्कास्पद देखिएपछि अनुसन्धान सुरु भएको छ ।

झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी मेनुकाको शरीरमा नीलडाम देखिएपछि माइती पक्षले हत्या भएको आशङ्का गरेको हो । श्रीमान् ईश्वर बरालले कुटपिट पछि हत्या गरेको बताएको माइती पक्षबाट घटनाको निष्पक्ष अनुसन्धानको लागि प्रहरीमा उजुरी परेको छ ।

दमकमा रहेकी मेनुकालाई ईश्वरले बोलाएको र यसअघि पनि बारम्बार शारीरिक तथा मानसिक यातना दिने गरेको परिवारको दाबी छ।

प्रहरीलाई खबर नगरी मृतक मेनुकालाई अस्पताल पुर्‍याएको र डोरी काटेर प्रमाण नष्ट गर्न खोजेको माइती पक्षको आरोप छ । श्रीमान् ईश्वर बरालकी आमाले 'माइती पक्षलाई बैनी छोटो बुद्धिले मरिसकिन्, तपाईँहरू आउनुस् मिल्नुपर्छ’ भनेपछि अझ आशङ्का बढेको माइती पक्षको भनाइ छ ।

माइती पक्षले २९ गते नै इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका छन् ।

उजुरीको विषयमा बुझ्न गएका माइती पक्षले आरोपी ईश्वर बराल कतै नजाने भन्दै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएको बताएका छन् । डिएसपीले कार्कीले पोस्टमार्टम रिपोर्ट नआएको कारण दर्ता नगरेको बताएको माइती पक्षको भनाइ छ ।

प्रमाणहरू बिस्तारै नष्ट हुँदै गएको र मृतकको दाहसंस्कार समेत भइसकेको अवस्थामा प्रहरीले आलटाल गर्न खोजेको माइती पक्षको आरोप छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानलाई थप प्रभावकारी बनाइने भएको छ ।

ईश्वरको परिवारलाई प्रहरीले निगरानीमै राखेको बताउँदै उनले घटनाको सूक्ष्म अनुसन्धान हुने र रिपोर्टको आधारमा अगाडी बढ्ने तयारी भएको बताए ।