इटहरी : राष्ट्रिय युवा सङ्घ नेपाल र यूथ फोर्सको संयुक्त आयोजनामा एक हजार बिरुवा रोपिएको छ। इटहरी धरानको बिचमा पर्ने चास कोसे जङ्गलमा दुवै सङ्गठनले पर्यावरणमैत्री वृक्षारोपण गरेका हुन् ।
'हात्तीको सहारा, जङ्गलमै आहारा' भन्ने मूल नाराका साथ संविधान दिवसको अवसर पारेर वृक्षारोपण गरिएको यूथ फोर्स प्रदेश संयोजक राजन बानियाँले बताए । उनका अनुसार वन्यजन्तु आहाराको अभावमा गाउँ बस्तीमा छिर्न थालेपछि त्यसको दीर्घकालीन समाधानको प्रयास गरिएको हो । 
पर्यावरणको संरक्षण मानिसको पहिलो दायित्व भएको बताउँदै उनले सोही अनुसार केरा, बाँस लगायत वन्यजन्तुको आहारा हुने प्रकृतिका बिरुवा रोपिएको जानकारी दिए । युवाहरूमा पर्यावरणीय चेतना विकास गर्दै जीवजन्तु र मानव बिचको सम्बन्धलाई सुधारको प्रयास थालिएको उनको भनाइ छ । 
एमाले पूर्व जिल्ला अध्यक्ष तथा कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सय बढी युवाको सहभागिता रहेको थियो ।