धरान : इलाका प्रहरी कार्यालय धरानको टोलीले शुक्रवार धरानका २० वर्षीय आकाश साहलाई ठुलो परिमाणमा निषेधित औषधि सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार साहलाई लागुऔषको रूपमा प्रयोग हुने कानुनले निषेधित गरेको औषधि ट्रमाडोल ४ हजार ८०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

यसैगरी सोही दिन साँझ झापाको मेचीनगर-४ बाट बाहुनडाँगी प्रहरी चौकीको टोलीले लागुऔषध बेचबिखन, ओसारपसारमा संलग्न भारत दार्जिलिङका १९ वर्षीय सरोज माझी, शिवसताक्षी-१ का २३ वर्षीय विशाल खड्का, काठमाण्डौ-५ का २५ वर्षीय गणेश थापालाई ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँच गर्दा उनीहरूले भारतबाट नेपाल ल्याउँदै गरेको ५५ ग्राम ब्राउनसुगर बरामद भएको जनाएको छ ।

मोरङको बेलबारी इलाका प्रहरीले बेलबारी-२ का २० वर्षीय सौगात थापा, २१ वर्षीय सागर खत्री, २३ वर्षीय सुरज राई र सुन्दरहरैचा-११ का २० वर्षीय पुकार विश्वकर्मा निषेधित औषधी सहित पक्राउ गरेको छ ।

उनीहरूबाट ट्रमाडोल, डिकोलिक, ओबिन, लाईसिटोन र स्पाज्मिड समेत कुल ७०७ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्रवारै उदयपुरको कटारी इलाका प्रहरी कार्यालयले कटारी-८ का दलबहादुर आलेमगर र सुमन आलेमगरलाई गाँजा सहित पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले १० किलो ९६० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।