विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी सहित ९ जना जुवाडे जनही ३० हजार रुपैयाँ धरौटीमा शुक्रवार छुटेको मोरङ जिल्ला प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनीसँगै धरान-१५ का युवक राई सहित ९ जना छुटेका हुन । उनीहरू मोरङ जिल्ला प्रशासन कार्यालयको आदेशमा छुटेको प्रहरीले जनाएको छ ।

धरौटीमा छुटेकाहरूमा दुहबी–६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैंचा–१ का ५० वर्षीय जनककुमार मास्के, महोत्तरीका ४५ वर्षीय महेश साह, ग्रामथान-४ का अहिलाल माझी, दमक-१० का ऋतुबर्ण नेम्वाङ, लेटाङ-९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा-३ का प्रताप राई रहेको मोरङ जिल्ला प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीले माझी सहित पक्राउ परेका बाहेक ६ जनालाई फरार घोषित गरेको थियो । उनीहरूको मुद्दा जुवा ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमा दायर छ । पक्राउ पर्नेहरू एक हप्तापछि उनीहरू छुटेका हुन ।

गत शनिवार ग्रामथान ४ कटहराको जुवा खालमा छापा मारेर प्रहरीले माझी सहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीको टोलीले अड्डा भत्काएर जुवाडेलाई नियन्त्रणमा लिएको थियो । जुवा खालबाट जुवाडे भनेर चिनिने उर्लाबारीका अर्जुन तुम्रोक फरार भएका थिए । प्रहरीले तुम्रोक सहित ६ जनालाई फरार घोषित गरेको छ ।

उनीहरू पक्राउ परेको जुवा खाल ‘बाह्रमासे’ भन्ने गरिएको छ । त्यहाँ जुवा खेल्न मधेस प्रदेशको महोत्तरी सहित धरान, दमक, दुहबी लगायत ठाउँबाट जुवाडेहरू आउने गरेको प्रहरीले बताएको छ ।