धरान : पथरीशनिश्चरेमा ३ दिन अघि भएको हत्याको घट्नामा संलग्न भएको आशङ्का गरिएका फरार रविन राईलाई आइतबार पक्राउ गरिएको छ ।

गत शनिवार असोज ५ गतेर राती पथरीशनिश्चरे-७ मायालु चौकका ६२ वर्षीय चन्द्रबहादुर तामाङको धारिलो हतियार दाउले काटी हत्या गरिएको थियो ।

घाँटी, टाउको र चिउँडोमा कटिएको अवस्थामा मृत फेला परेका तामाङको शव नजिक दाउ फेला परेको थियो । हत्याको घटना लगत्तै उनको ज्वाइँ कानेपोखरी-५ का २९ वर्षीय रविन राई फरार भएका थिए ।

हत्याको घट्नामा उनको संलग्न भएको आशङ्कामा रविनको खोज तलास गर्दा धनकुटाको मुलघाटमा उनलाई फेला पारी पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पथरीका प्रहरी निरीक्षक समेतको टोली र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त टोलीले रविनलाई पक्राउ गरेको हो ।

प्रहरी अनुसार प्रारम्भिक  अनुसन्धानमा मृतक ससुरा र ज्वाइँ रविन बिच मादक पदार्थ सेवन गरेपछि वादविवाद हुँदा फलामको दाउले प्रहार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ ।

प्रहरीको नियन्त्रणमा आएका रविनलाई सोमवार मोरङ जिल्ला अदालतबाट दिन ४ को म्याद थप गरी इलाका प्रहरी कार्यालय पथरीले थप अनुसन्धान सुरु गरेको बताएको छ ।