धरान : सुनसरी सहित ५६ जिल्लामा भारीदेखि अतिभारीसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको छ। आजदेखि आइतबारसम्म ५६ जिल्लामा भारीदेखि अतिभारीसम्मको वर्षाको पूर्वानुमान विभागले  गरेको हो ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा भारी वर्षा प्रक्षेपण गरिएको हो।

हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।