विराटनगर : विराटनगर महानगरपालिका कोशी प्रदेशका १७ नगरपालिकाहरू मध्ये स्वास्थ्य सेवाको अग्रणी पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि विराटनगर १६औ स्थानमा थियो।
प्रदेशको एक मात्र महानगरपालिका विराटनगरले पछिल्लो समय स्वास्थ्य सेवामा भएका सुधारका कार्यहरूले यो उपलब्धि हासिल गरेको महानगरपालिकाले जनाएको छ ।
मोरङ जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षामा जिल्लाका १७ नगरपालिका मध्ये विराटनगर पाँचौँ स्थानमा परेको हो ।
अघिल्लो आर्थिक वर्षभन्दा विराटनगरले स्वास्थ्यको क्षेत्रमा ठुलो फड्को मारेको छ । पछिल्लो ६ महिनामा गरेको कार्य प्रगतिका कारण यो उपलब्धि हासिल गरेको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवले बताए ।
उनले भने ‘अघिल्लो आर्थिक वर्षभन्दा हामी निकै राम्रो अवस्थामा आइपुगेका छौँ ।’ आगामी दिनमा मिहिनेत थपियो भने अझै राम्रो गर्न सकिने उनले बताए । उनका अनुसार यो उपलब्धि महानगरपालिकाको नेतृत्वबाट हुने मार्गनिर्देशनले हासिल भएको हो । ’
१ देखि ४ सम्म पर्ने पालिका र विराटनगर बिचको अङ्क धेरै फरक नभएको स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यका सूचकहरूको मूल्याङ्कनमा स्थान तय गरिन्छ ।
चालु आर्थिक वर्षमा १ देखि ३ नम्बर भित्र पर्ने लक्ष्य सहित कार्य भइरहेको उनको भनाई छ । कार्कीले भने ‘विगतमा महाशाखाले मेयर तथा उपमेयर ज्युलाई कम्तीमा ५ औँ स्थानमा पार्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ ।’
सबै स्वास्थ्यकर्मीको मिहिनेतबाट यो उपलब्धि हासिल भएको उनले बताए । स्वास्थ्य कार्यालय मोरङका अनुसार अघिल्लो आर्थिक वर्षको वार्षिक समीक्षामा विराटनगर महानगर १६औँ स्थानमा थियो ।