धरान : नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूले सामाजिक सञ्जालमा लेख्ने स्ट्याटस, कमेन्टहरूको प्रचार विभागले अनुगमन गर्न थालेको बताएका छन् ।

उनले भने ‘काँग्रेसका कार्यकर्ताले सामाजिक सञ्जालमा गर्ने स्ट्याटस, कमेन्टहरूको आधारमा पार्टी उसको मूल्याङ्कन गर्नेछ ।’

सामाजिक सञ्जालका कारण पार्टीका निर्णयप्रति नै नकारात्मक टिप्पणी गर्ने प्रवृत्तिले कार्यकर्ता बिच अनावश्यक अफवाह, गुटबन्दी बढेको उनको भनाई थियो ।

‘चन्द्रप्रसाद श्रेष्ठ शिक्षा पुरस्कार कोष’द्वारा आज शुक्रवार धरानका ४ जना शिक्षासेवी पूर्व प्रधानध्यापकहरुलाई नगद सहित सम्मानित गरिएको कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले उक्त कुरा बताएका हुन ।

चुनावका बेला पार्टीले तोकेको उम्मेदवारका बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने कार्यकर्ताले भोट दिए होलान् त ? भनी प्रश्न गर्दै उनले भने ‘सामाजिक सञ्जालमा टिकट त पाए अब जितेर देखाउन नि त भनेर लेख्नुको अर्थ हार्छ, हराउँछौँ भन्ने बुझिन्छ ।’

पार्टीमा आउँदा केही नभन्ने सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने कार्यले कार्यकर्ताहरूमा पार्टी अनुशासन फितलो बनाएको उनको भनाई थियो । केन्द्रीय सदस्य विश्वकर्माले अबका दिनमा सामाजिकको लेखाई पनि कार्यकर्ताको मूल्याङ्कनको आधार बनाइने स्पष्ट गरे ।

उनले काँग्रेस सभापति देउवालाई एमालेका नेता प्रधानमन्त्री केपी ओली, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रशंसा गर्ने तर काँग्रेसकै कार्यकर्ताले नकारात्मक कुरा गर्ने प्रवृत्ति ठिक नभएको बताए । भने ‘काँग्रेसका संस्थापक नेता वीपी कोइरालालाई महान् नेता भनी प्रचण्ड र ओलीले सम्मान प्रकट गर्छन्, पार्टी सभापति शेरबहादुर देउवालाई दूरदृष्टि भएको नेता मान्छन् ।’

केन्द्रीय सदस्य विश्वकर्माले काँग्रेस शिक्षक, डाक्टर, इन्जिनियर, बुद्धिजीवीले राजनीति गर्नु हुँदैन भन्ने पक्षमा नरहेको बताउँदै भने ‘पढेलेखेको देशको स्थिति बुझेकाले राजनीति गर्न नपाउने हो भने कसले आएर देशको समस्या समाधान गर्ने ?

शिक्षकहरूलाई राजनीतिबाट अलग राख्ने नभई सक्रिय पदमा राख्न नहुने बाध्यतामा पार्टी रहेको बताउँदै उनले भने ‘नियम, कानुन बनाउँदा भएको एउटा त्रुटि कारण शिक्षकहरूलाई राजनीतिबाट पृथक् बनाउन सहयोग पुगेको छ ।’

शिक्षक, डाक्टर, इन्जिनियर समाजको समस्या बुझेका अगुवाहरू भएकाले उनीहरू राजनीतिबाट अलग बस्न नसक्ने बताउँदै उनले मुलुकका लागि योग्य र क्षमतावान् नेतृत्व उनीहरूबाटै आउन सक्ने उनको भनाई थियो ।

यसअघि ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष ज्योति आचार्यले काँग्रेस सरकारमा हुँदा शिक्षा ऐन ल्याउन ढिलाइ गरेका कारण शिक्षकहरू मारमा परेको बताएका थिए । उनले शिक्षामा ऐनहरू नबनेको बताउँदै सरकारले ऐनहरू बनाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, सुनसरी प्रदेश (क)   काँग्रेस सभापति अनिल श्रेष्ठ, नेपाल शिक्षक सङ्घ सभापति चण्डिका बास्तोला, सम्मानित गोकुलप्रसाद श्रेष्ठ, कोषका संस्थापक चन्द्रप्रसाद श्रेष्ठले सम्मानित शिक्षासेवीहरुलाई बधाई ज्ञापन गरे ।

कार्यक्रम कोषका अध्यक्ष धरानका पूर्व नगर प्रमुख तिलक राईको सभापतित्वमा भएको थियो । उनले काँग्रेस ऐतिहासिक पार्टी भएकोले पार्टी नजिक रहेर शिक्षामा योगदान गरेका धेरै अग्रजहरू भएको बताउँदै भने ‘हामी निकट रहेर योगदान कैयौँ गर्ने अग्रजहरूलाई हामीले सम्मान गर्न सकेका छैनौँ, सम्मानका लागि हामीले बाहिर खोज्न पर्दैन ।’

शिक्षामा मात्र नभएर समाजका हरेक क्षेत्रमा काँग्रेस निकट रहेर लामो समय योगदान गर्ने अग्रजहरूको सम्मान गर्न पार्टी निकट संस्थागत कोषहरू स्थापना गर्न जरुरी भएकोमा उनले जोड दिए ।

Teacher sammanTeachers samman