इटहरी : धरानका उद्योगी अनिल अग्रवालले सञ्चालन गरेको सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ मा रहेको हुनुमन्ते पोलीमरको गोदाममा आगलागी भएको छ । बुधवार राती ८ बजे देखि सल्किएको आगो बिहान ६ बजे मात्र नियन्त्रणमा आएको हो । 

इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका दमकल प्रयोग गरे पनि पर्खालको कारण आगो नियन्त्रणमा लिन समय लागेको बताइएको छ । उद्योग सञ्चालक अनिल अग्रवाल (प्रिन्स)का अनुसार लामो समय सम्म आगो नियन्त्रण नभएपछि क्षति धेरै भएको छ ।

दसैँ लागेपछि कर्मचारी र कामदारलाई दिउँसै छुट्टी दिइएको र कोही पनि नभएको बेला आगलागी भएको उनको भनाइ छ । 

के कारण आगोलागि भयो र कति क्षति भयो भन्नेबारे यकिन हुन बाकी रहेको उनले बताए । विभिन्न म्याट्रेक्स तथा फोम बनाउने उद्योगको मुख्य गोदाममा आगलागी भएको उनले जानकारी दिए । ‘गोदाममा रहेका महत्त्वपूर्ण मेसिन र उपकरणहरू समेत जलेर काम नलाग्ने भएका छन् ।

अहिलेसम्म हामीले त्यसभित्र हेर्न सकेका छैनौ । धेरै क्षति भएको छ । अब कसरी अगाडी बढ्ने धेरै समस्या भएको छ,’ उनले भने । यस अघि पनि सो उद्योगमा आगोलागि भएको थियो ।

itahari-factory-aaglagi-2