झापा : झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । गएराती झापाको कमल गाउँपालिका वडा नं. ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
यस्तै झापाको मेचीनगर-७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
आज आइतबार बिहान साढे ७ बजेतिर मेचीनगर-७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटेल मेची क्राउनमा काम गर्ने मेचीनगर-६ बस्ने अन्दाजी वर्ष ३५ का अभिषेक लिम्बु सवार प्र. ०१-१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी वर्ष ४५ का डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।
घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा ७:४५ बजे मृत्यु भएको झापा ट्राफिकले जनाएको छ ।