धरान : वीपी प्रतिष्ठान धरानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठकी स्वर्गीय आमा साधनादेवी श्रेष्ठ स्मृतिमा प्रदान गरिने १ लाख रुपैयाँ राशिको ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ६९औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित समारोहमा पुरस्कार गरेका हुन ।

पुरस्कृत थापा मगर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रदेश अनुसन्धान समूहमा कार्यरत छन् । प्रदेशका वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू मध्येबाट छनौट भएका उनलाई यस वर्षका पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत प्रहरी वरिष्ठ नायव निरीक्षक थापा मगरले नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने नागरिक अघि प्रहरीको छवि उच्च बनाउने योगदान गर्दै आएका छन् । सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्न उनले गरेका कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले उक्त पुरस्कार प्रदान गरेको बताइएको छ ।

पुरस्कृत थापा मगरले आफ्नो कार्यहरूको मूल्याङ्कन गरी उत्कृष्ट प्रहरीको रूपमा छनौट गरेर सङ्गठनले ठुलो सम्मान गरेको बताए । उनले भने ‘पुरस्कारले आफूलाई अझ बढी जिम्मेवार भएर  दायित्व निर्वाह गर्न प्रेरणा मिलेको छ ।’