धरान : ‘कार्यवाहक’ नगर प्रमुखको कानुनी प्रश्नले धरानको माहौल तताएपछि युके जान काठमाडौँ पुगेका प्रमुख हर्क सम्पाङलाई उड्न अघि बुधवार रातभर निन्द्रा लागेन ।

उनले बिहानै स्ट्याटसमा लेखेका छन् ‘जनताको आँखामा देखिएको त्यो आशाको किरणलाई समेटेर सुनौलो प्रभात ल्याउने कशम खाएको एउटा सानो मान्छे रातभर सुत्न सकेन ! मनमा अनेकन कुराहरू मडारिएर सुत्न दिएन ! लागियो एयरपोर्ट तर्फ !

कार्यवाहककै बढी चिन्ता भएको पुष्टि :

विदेश उड्न अघि प्रमुख साम्पाङलाई ‘रातभर सुत्न नसक्ने’ चिन्ता भने उनले लिखित रूपमा दिएको ‘कार्यवाहक’ प्रमुखको विषयमा उठेको विवाद नै हो भन्ने कुराको पुष्टि सम्पाङका ‘विज्ञ सदस्य’ दत्त लिम्बुले पुष्टि गरेका छन् ।

दत्त लिम्बुले कपुरीसँग फोनमा भने ‘सामाजिक सञ्जालमा आएका विभिन्न पोष्ट र निवर्तमान मेयर तिलक राई लगायत र ६ राजनैतिक दलले कार्यवाहक मेयर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई दिएको विषयमा विरोध भएकोले गर्दा मेयर साब सुत्न नसकेको हुनसक्छ ।’

‘कार्यवाहक’ ‘कानुनी कु’ हुनसक्ने !

प्रमुख हर्क साम्पाङले दिएको ‘कार्यवाहक’ स्थानीय सरकार सञ्चालन ऐन, उपमहानगरपालिकाकै नियमावली र संवैधानिक प्रावधानको उल्लङ्घन भएको दाबी गरिँदै आएको छ ।

उपप्रमुख आइन्द्रविक्रम बेघाले कानुनी रूपमा आफू ‘कार्यवाहक’ भएको दाबी गर्दै उपमहानगरपालिका कर्मचारीहरूलाई आन्तरिक परिपत्र गरेको पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेका छन् ।

त्यस भन्दा एक कदम अघि बढेर उपप्रमुख बेघाले नेपाल नगरपालिका सङ्घको परामर्शमा अदालतमा रिट दायर गर्ने उद्घोष सम्म गरेका छन् ।

प्रमुख साम्पाङको वडाअध्यक्षलई ‘कार्यवाहक’ दिने गरेको निर्णयलाई अदालतमा चुनौती दिइएमा आफूले तोकेको ‘कार्यवाहक’ कानुनी रूपमा ‘कु’ मा परी उपप्रमुख कार्यवाहक भइदिए ठुलो बेइज्जत हुने चिन्ता प्रमुख साम्पाङलाई रातभर निन्द्रा नलाग्नुको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ ।

यस्तो छ अदालतको नजिर :

यसअघि झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा परेको रिटमा उच्च अदालत विराटनगरले २०८० भदौ ५ गते अन्तरिम आदेश दिएको थियो ।

तत्कालीन न्यायाधीश सोमकान्त मैनालीको इजलासले गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ । अदालतको आदेशसँगै गाउँपालिकाकी उपाध्यक्ष प्रमीला न्यौपानेले स्वतः कार्यवाहक पाएकी थिइन् ।

अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । उनले उपाध्यक्ष हुँदाहुँदै कार्यवाहकको जिम्मेवारी वडाध्यक्ष सुब्बालाई दिएपछि उपाध्यक्ष न्यौपानेले २०८० भदौ १ गते उच्च अदालतमा रिट हालेकी थिइन् ।

निन्द्रा नलाग्नुका अन्य कारण :

मामला प्रमुख साम्पाङ उड्दा सम्म अदालत पुगेको छैन र त्यस्तो नहुन पनि सक्छ । तर शङ्काले लङका जलाउँछ भने जस्तै प्रमुख साम्पाङलाई उड्न अघि अन्य चिन्ताले पनि निद्रा नलागेको उनका निकट दत्त लिम्बुले बताए ।

उनले सुन्नीमा पारुहाङ प्रतिमा निर्माणका लागि ५ करोड उठिसकेको बताए । अहिले सम्मकै ठुलो योजनाका लागि आवश्यक रकम सङ्कलन गर्न प्रमुख साम्पाङ युके गएको बताउँदै आफूलाई तनाव भए जस्तै मेयर साबलाई झन् तनाव भएको कारण पनि निद्रा नलागेको होला भन्न उनको भनाई छ ।

दत्त लिम्बुले युकेबाट कति रकम उठाएर ल्याउन सकिन्छ थाहा छैन । कसरी बनाउने होला भन्ने तनाव पनि होला भनी बताउँदै भने ‘प्रतिमा निर्माणमा २५ करोड लागत लाग्छ, अनि हुँदैन तँ तनाव ? तनाव कै कारण निद्रा हराम भएको हो ।’