धरान : इटहरीका ३६ वर्षीय अग्रदिप चौधरी, ३० वर्षीय नरेश चौधरी र राजविराजका १९ वर्षीय रोहितकुमार मण्डललाई बिहीबार प्रहरीले लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार उनीहरूबाट ५ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरूलाई सुनसरीको कोशी गाउँपालिका-१ बाट पक्राउ गरिएको हो ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी धनकुटाको हिले प्रहरी चौकीले धनकुटा-१ बाट स्थानीय २५ वर्षीय फुर्वा तामाङ, २७ वर्षीय छितेन तामाङ, २७ वर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका-९ का २८ वर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

भोजपुरको अरुण गाउँपालिका-६ जरायोटारमा प्रहरीले बा ३ ख २५४९ नम्बरको बस चेकजाँच गर्दा भोजपुर-९ का २५ वर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा झापाको प्रहरी टोलीले दमक-५ का ३५ वर्षीय रुपेन्द्र भण्डारी र ३४ वर्षीय नारायण बहादुर बस्नेतलाई २ ग्राम ब्राउन सुगर सहित मेचीनगर-६ बाट पक्राउ गरेको छ ।