धरान : कवि विमल स्मृति पुस्तकालयले प्रदान गर्दै आएको कृति पुरस्कार र कविता प्रतियोगीताका लागि १० पुस्तक र १० कविता मनोनयनमा परेका छन् ।

कृति पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरू मध्येबाट १ कृतिलाई २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ ।

पुस्तकालयद्वारा शुक्रवार सार्वजनिक गरिएको जानकारी अनुसार स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक मध्ये १० पुस्तक मनोनयनका लागि चयन गरिएको हो ।

कृति पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरूमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कविता सङ्ग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध सङ्ग्रह प्रश्नहरू त बाँकी नै रहन्छन् रहेका छन् ।

जसकुमार राई र अर्जुन उप्रेतीको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता सङ्ग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निबन्ध सङ्ग्रह चियागफ, मन्जुला तामाङ सुब्बाको कविता सङ्ग्रह कुहिरो भित्र घुम जोरबङ्गलो मनोनयनमा परेका छन् ।

यसैगरी कवि विमल गुरुङको ५३ औँ जन्मजयन्ती कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने ३३ औँ राष्ट्रिय कविता महोत्सवमा कविता प्रतियोगीताका लागि वाचन हुने १० कविता पनि चयन गरिएको छ ।

उत्कृष्ट १० मध्ये कविता मध्ये प्रथमलाई नगद २१ हजार, दोस्रोलाई १८ हजार र तेस्रोलाई १७ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगीताका लागि कुल ८१ कविता प्राप्त भएको पुस्तकालयले जनाएको छ ।

प्रतियोगितामा वाचनका लागि चयन भएका कविताहरूमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, सङ्खुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदिको किनारै किनार छन् ।

मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैँचाको अर्ग्यानिक मुस्कान र सुनसरीका दिपा मग्रातीको देशमा मेरो अनुहार रहेका छन् ।

Bimal-books