विराटनगर : नेपाली काँग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले आउँदो आम निर्वाचन सम्म काँग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताएका छन् ।

उनले सरकारले कार्यशैलीका कारण बढेको गुनासोको आधारमा सरकार ढल्छ भन्ने आशङ्का गरिएकोप्रति टिप्पणी गर्दै गठबन्धनको उद्देश्य अनुरूप सुधार गर्नु पर्नेमा जोड दिए । नेता कोइरालाले भने ‘यो सरकार ढल्दैन चल्छ, तर सरकार सरकार जस्तो भएर चल्नु पर्दछ ।’

नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको बेलबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेता कोइरालाले उक्त कुरा बताएका हुन । उनले भने ‘राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना छैन ।’

नेता कोइरालाले आउँदो निर्वाचनसम्म काँग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै भने ‘तर गाडीमा झण्डा हल्लाउँदै हिंड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन ।’ मन्त्रीहरूले इमान्दारी पूर्वक काम गरी जनतालाई सरकार भएको अनुभूति गराउन जरुरी भएको उनले बताए ।’

नेता कोइरालाले आर्थिक विकास र सुशासन कायम गर्न सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुश हुने गरेको बताउँदै भने ‘सरकार बनेको धेरै नभए पनि यो बिचमा उद्देश्य अनुसार काम भइरहेको छैन ।’

उनले भने ‘जनताले सरकार परिवर्तन भएको अनुभूति गर्नु पर्दछ तर जनताले सरकार त्यस्तो अनुभूति गरेको छैनन् जस्तो मलाई लागेको छ ।’

नेता कोइरालाले संविधान संशोधनको प्रसङ्ग निकाल्दै भने ‘काँग्रेस र एमालेको चाहनाले मात्रै संविधान संशोधन हुँदैन ।’ अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधनमा सहमति जुटाउनु आवश्यक रहेका उनको भनाई थियो ।

संविधान संशोधन गर्न छुट्टै आयोग बनाएर वा संसदीय समिति बनाएर हुन्छ सबै दलको सहमतिमा संशोधनको प्रक्रिया अगाडि बढाउनु पर्ने उनले बताए । नेता कोइरालाले भने ‘हामी ठुला दल हौँ भन्ने दम्भ राखेर एकलौटी संशोधन गर्ने प्रयास गरिए नेपाली जनताले स्वीकार गर्दैनन् ।’

सरकारमा रहेका दलले विपक्षी दल फुटाएर एकलौटी गर्ने प्रवृत्ति बढेमा लोकतन्त्रमा जोखिम बढेर जाने उनले बताए । नेता कोइरालाले चेतावनी दिदैं भने ‘सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा सुनिएको छ, दल फुटाउने उद्देश्यले त्यस्तो अध्यादेश ल्याइएमा लोकतन्त्र र सुशासन धज्जी उड्नेछ ।’

कार्यक्रममा काँग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश, मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, विराटनगरका मेयर नागेश कोइराला, मानबहादुर लिम्बू, वसन्त भट्टराई, शङ्कर राई, सैनिक सङ्घका केन्द्रीय सभापति मेघराज टण्डन, निवर्तमान सभापति कर्णेल धनबहादुर राना लगायतले समारोहमा सम्बोधन गरेका थिए ।