धरान : उच्च अदालत विराटनगरको आदेशको बेबस्ता गर्दै धरान वडा ११ का अध्यक्ष लोकेन्द्र फागो आज सोमबार पनि कार्यवाहक भएरै कार्यालयमा बसे। उच्च अदालत बिराटनगरले आइतबार नै नगर प्रमुख हर्क साम्पाङद्वारा उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने पत्र खारेज गरिसकेको छ । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने प्रमुख साम्पाङको पत्र गैरकानुनी भएको ठहर गर्दै उच्च अदालतले खारेज गरेको हो ।

नगर प्रमुख साम्पाङले वडा ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई आफू युके जाने भएपछि कार्यवाहक प्रमुखको पत्र दिएका थिए ।

वडाध्यक्ष फागोले अदालतबाट पत्र आएपछि मात्र कार्यवाहकको कामकाज नगर्ने बताए । तर उपमहानगरपालिका स्रोतका अनुसार कार्यवाहकको पत्र बुझेका वडाध्यक्षले अदालतको पत्र भने बुझ्न नमानेको बताइएको छ ।

उनले सोमवार दुई वटा फायलमा कार्यवाहकको तोक लगाए । वडाध्यक्ष फागोले भने ‘अदालतबाट पत्र नआएकोले कार्यवाहक भएर बसेको छु । पत्र आएपछि स्वतः कार्यवाहकको काम गर्दिन ।’

कपुरी न्यूजको प्रश्नमा वडाध्यक्ष  फागोले भने ‘प्रमुख विहीन हुँदा जनताले दुःख पाउँछन् भनेर कार्यवाहक रहेको हुँ ।’

अदालतको आज्ञा पालना नगरी अवज्ञा गरेमा अदालतको अवहेलना हुने सुनसरीका वरिष्ठ कानुन व्यवसायीहरूले बताएका छन् । एक वरिष्ठ अधिवक्ताले भने ‘न्याय प्रशासन ऐनको दफा ७२ को २, ४, १८ मुलुकी अपराध संहिता र ऐनको ८७, ८८ मुलुकी फौजदारी संहिता दफा ५५ को १ (क) बमोजिम निजलाई सजाय वा जरिवाना दुवै आकर्षित हुनेछ ।’

उनका अनुसार हिजोआज अदालती पत्राचार, म्याद, पेशी सबै अनलाइनबाटै हुने भएकोले आजको दुनियाँमा अदालतबाट आदेश भएको कुरा सञ्चार माध्यममा तथा सामाजिक सञ्जालबाटै सार्वजनिक भएको अवस्थामा कार्यवाहक पद धारण गरिरहनु नैतिक रूपमा गैरजिम्मेवार हो ।

नगर प्रमुख साम्पाङले विदेश युकेमा बसेर प्रतिक्रिया दिँदा कावा प्रमुख फागोले जिम्मेवारी सम्हाली रहनु गलत भएको वरिष्ठ अधिवक्ताले बताए । उनले भने ‘संस्थागत रूपमा कार्यवाहक भएको व्यक्तिले अनभिज्ञता प्रकट गर्न पाउने छुट समेत हुँदैन ।’

आइतबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएको छ ।

आफू हुँदाहुँदै प्रमुख साम्पाङले वडाध्यक्षलाई कावा दिए बेलायत उडेपछि उपप्रमुख आइन्द्रविक्रम बेघा कात्तिक ४ गते अदालत पुगेका थिए । मुद्दाको अर्को सुनुवाइ भोलि मङगलबार हुँदैछ ।