विराटनगर : सडक छेउ खाली जमिनमा फोहोर फाल्दा विराटनगर-६ का मनोज सहनी मङ्गलवार पक्राउ परे । विराटनगर-११ नयाँ गुद्री नजिक फलफूलका व्यवसायी उनले ठेलामा ल्याएको फोहोर फालेकोमा महानगरपालिका प्रहरीले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन ।

सरसफाइ शाखा प्रमुख पुनम दाहालका अनुसार सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई पहिलो पटक ५ देखि २५ हजार र दोस्रो पटक पनि फोहोर फालेमा २५ हजार भन्दा माथि जरिवाना गर्न सकिने महानगरको कानुनी व्यवस्था छ ।

विराटनगरलाई सफा राख्न सार्वजनिक स्थलहरूमा फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्न बनेको नियम, कानुन उल्लङ्घन गरेकामा सहनीलाई पक्राउ गरिएको हो ।

जथाभाबी फोहोर फाल्नेहरूलाई निगरानी गर्न महानगरले विभिन्न ठाउँमा सिसी क्यामेराको व्यवस्था गरेको छ । सिसी क्यामेरा बाहेक कसैलो सूचना दिएको आधारमा पनि पक्राउ गरी फोहोर फ्याल्नेलाई कारबाही प्रक्रियामा समेत ल्याइएको दाहालले बताए ।

सहनीलाई भने वडा सदस्य बलराम कारञ्जितले दिएको सूचनाका आधारमा महानगरको टोलीले फोहोर फाल्दै गर्दा ठाउँमै नियन्त्रणमा लिएको नगर प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

फोहोर राखिएको ठेला चालकलाई भने सम्झाएर छाडिदिएको सरसफाइ शाखाका प्रमुख पुनम दाहालले बताइन । फोहोर फाल्न ल्याउने सहनीलाई भने कारबाहीको दायरामा ल्याइने बताइएको छ ।

गुद्रीका व्यवसायीहरूले नयाँगुद्री दक्षिणस्थित खाली जमिन र फुटपाथमा फोहोर फ्याल्ने गरेको भन्दै स्थानीयले समेत महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । स्थानीयको गुनासोपछि महानगरको टोलीले विशेष निगरानी बढाएको थियो ।

महानगर सफा राख्न जनप्रतिनिधिहरूबाट समेत निगरानी हुने गरेकाले वडा सदस्य कारञ्जितले फोहोर फालिरहेको देखेपछि तत्कालै महानगरको टोलीलाई खबर गरेका थिए ।