विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले एक सय दिनमा सामान्य संसदीय पद्धति र परम्परालाई पनि पालना नगरेको बाहेक अन्य समीक्षा गर्ने विषय नै नभएको माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनले भने ‘दुई प्रमुख दलको सरकार बनाउने कुराले सामान्य संसदीय पद्धति र परम्पराको पालना भएन ।’ दुई वटा पार्टीको सरकार निरङ्कुश बन्ने पहिले गरेको सङ्केत अनुसार सरकार अहिले निरङ्कुशता तिर गएको उनले बताए ।

पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आज बुधवार बिहान विराटनगर एयरपोर्टमा सञ्चारकर्मीलाई भने ‘ओली सरकारको एक सय दिनमा अरू समीक्षा गर्नुपर्ने विषय नै छैन ।’

उनले ओली सरकार अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा गर्दै भने ‘हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ तर, सरकारले हाम्रो सरकारको पालामा भएका भ्रष्टाचारका दोषीलाई सफाइ दिने काम गरिरहेको छ ।’

बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनःस्थापनाको कुनै काम नगरेको उनले बताए । श्रेष्ठले भने ‘त्यसकारण यो सरकारका बारेमा मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन ।’ सरकारले देश जनताको पक्षमा सकारात्मक काम नगरेको उनले बताए ।

पूर्व उपप्रधानमन्त्रीले भने ‘काँग्रेस र एमालेले बुझ्नु पर्छ, देशको अहिलेको परिस्थिति दुई वटा पार्टीले मिलेर अध्यादेश ल्याउने खालको छैन ।’ रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सोधेको प्रश्नमा श्रेष्ठले छानबिन र अनुसन्धान भेदभावपूर्ण भएको आरोप लगाए ।

उनले भने ‘रवि पक्राउ पर्नु ठिक र बेठिक भन्ने भन्दा पनि राज्यले कसैलाई पनि विधि पुर्‍याएर अनुसन्धान गर्नु हुन्न अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् ।’ अहिले सबैको टिप्पणी भेदभाव भइरहेको भन्ने आएका उनले बताए ।

उनले प्रश्न गरे ‘प्रत्यक्ष सहकारीको ठगीसँग सम्बन्धित भएका सत्तारुढ पार्टीकै नेताहरूलाई किन अनुसन्धान गर्ने काम गरिएन ?’ किन उनीहरूलाई कानुनको दायरामा ल्याइएन भन्ने प्रश्न गम्भीर रूपमा उठेको उनले बताए ।

माओवादीले अहिले सरकारमा जाने कुरामा ध्यान नदिएको बताउँदै उनले भने ‘सरकारतिर हाम्रो आँखा छैन, आन्दोलन भनेको सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन ।’ देश र जनताको जल्दाबल्दा समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउन, जनताको पक्षमा काम गराउन दबाब दिने प्रतिपक्षको काम भएकोले आन्दोलन गर्नु पर्ने अवस्था आएको उनले बताए ।

वर्तमान सरकारले काम गर्न नसके पनि लोकतान्त्रिक विकल्पबाटै अर्को सरकार बनाउने उपाय खोज्नु पर्ने उनले बताए । नेता श्रेष्ठले भने ‘माओवादीले हिजो पनि तुलनात्मक रूपमा राम्रो काम गरेका हौँ, अझ पनि बदलिनुपर्छ भनेर काम गरिरहेका छौँ ।’

उनले बामपन्थी एकताको पक्षमा भए पनि तत्काल त्यो सम्भावना नरहेको बताए ।