झापा : रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भए पनि आक्रोशितहरूले केर्खा बजारमा रहेको प्रहरी वटमा आगजनी गरेका छन् । करिब हजारको सङ्ख्यामा रहेका स्थानीयले रतुवामाई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् ।

सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् । असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् ।

काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल गाउँपालिका-३ का हुन् । मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ ।

मृतक  बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे लिन गएका थिए । बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कँदै गर्दा रात्रि बसले ठक्कर दिएको हो ।

बर्थडे केक र मासु सडकभरि छरपस्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।

Jhapaa-Accident-2