इटहरी : कोशी प्रदेश सरकारमा सहभागी भएको नेपाली काँग्रेसमा आन्तरिक किचलोको असर मन्त्रालय भागबन्डामा देखिएको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू मातहतमा रहेको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएपछि किचलो प्रस्ट भएको हो । 

नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला समूहको भागमा परेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्ण प्रसाद सिटौला समूहका राईले पाएका हुन् । त्यससँगै काँग्रेस कोशी प्रदेश महामन्त्री समेत रहेका राईले दुई वटा मन्त्रालयको जिम्मेवारी बहन गर्ने भएका छन् ।  

एक मन्त्री र एक राज्यमन्त्रीको भाग पाएका कोइरालाले सुरुवात देखि नै दुई वटा मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने माग गरेका थिए । भागबन्डामा असन्तुष्टि जनाएका उनले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री कार्कीले राईलाई जिम्मेवारी सुम्पिएका हुन् । भदौ २८ मा मन्त्रिपरिषद् विस्तार हुँदा स्वास्थ्य मन्त्रालय खाली राखिएको थियो । एक राज्यमन्त्री थप गर्ने र स्वास्थ्य मन्त्री कोइराला समूहलाई दिने तयारी सहित विस्तार भएको मन्त्रीमण्डलले हालसम्म पूर्णता पाउन सकेको छैन ।

तत्काल कोइराला समूहले नाम नपठाउने जानकारी गराएपछि मुख्यमन्त्री कार्कीले जिम्मेवारी प्रदान गरेको बताएका छन् । कसलाई मन्त्री पठाउने भन्नेबारे यकिन गर्न नसकेको कोइराला समूहले थप एक मन्त्री पाउने गरी लबिङ गरिरहेको छ । कोइराला समूहका एक नेताका अनुसार एमालेको एक मन्त्रीलाई फिर्ता बोलाएर दुई वटा मन्त्रालय लिनेगरि छलफल भइरहेको छ । तर तत्काल एमालेले मन्त्री बोलाउने सम्भावना बारे आफू जानकार नभएको उनको भनाइ छ । 

काँग्रेस एमालेको सक्ता समीकरण बनेपछि एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री तथा काँग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री पाउने सहमति भएको थियो । पार्टीको भागमा परेको ४ मध्ये दुई मन्त्रालयमा कोइराला समूहले दाबी गरेको छ ।  

सभापति शेरबहादुर देउवाको एक मन्त्री र एक राज्यमन्त्रीको प्रस्तावमा कोइराला सहमत भएनन् । अन्ततः सोही अनुसार नै अगाडी बढ्न प्रदेश संसदीय दल र मुख्यमन्त्रीलाई आग्रह गरेपछि कोइराला समूहले मन्त्रीको नाम नपठाएको हो । फलस्वरूप कोशी प्रदेश सरकारमा कोइराला समूहको सहभागिता हुन सकेको छैन ।  

कोशी प्रदेशमा यसअघि नै एमालेबाट मुख्यमन्त्री कार्कीसहित आर्थिक मामिला मन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारी र खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री  एकराज कार्की छन् । 

काँग्रेसबाट भौतिक पूर्वाधार मन्त्री राई, उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम र पर्यटन वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डलले जिम्मेवारी सम्हालिरहेका छन् । राज्यमन्त्रीमा एमालेकी सृजना राई र काँग्रेसका भूमिप्रसाद राजवंशी छन् ।