धरान : तिहार नजिकिए लगत्तै बढेको ठूलै रकमको हारजित हुने जुवातास नियन्त्रणमा कोशी प्रदेश प्रहरी सकृय भएको छ ।

उदयपुरको त्रियुगा-९ मा बोइलर कुखुरा फर्ममा खोरमा लुकेर जुवा खेलिरहेका ९ जनालाई जुवा खेल्न प्रयोग गरिएको १६ वटा कोडा र नगद ४ लाख १४ हजार ५७५ रुपया सहित विहिवार दिउँसो जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार पक्राउ पर्नेहरुमा त्रियुगा-९ का ३७ बर्षीय राजु कार्की, त्रियुगा-१५ का ३४ बर्षीय बिजय राई, त्रियुगा-११ का ५० बर्षीय रबिन्द्र राई, त्रियुगा–१२ का ५३ बर्षीय बसन्त राई छन् ।

यस्तै त्रियुगा-१० का ४५ बर्षीय गेशराज राउत, त्रियुगा-१३ का ६२ बर्षीय पदम राई, रौतामाई-७ का ३४ बर्षीय कमल तामाङ, रौतामाई–७ का ३५ बर्षीय मनोज मगर र रौतामाई-५ का ४१ बर्षीय जय कुमार राई रहेका छन् ।

त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका–९ का कहरसिंह राजवंशीको घरमा तासको जुवा खेलीरहेका ४ जनालाई ४ बुङ तास र १ लाख ८२ हजार नगद रुपया सहित इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तासको जुवा खेलाउने ५३ बर्षीय कहरसिंह राजवंशी, ४७ बर्षीय सुरेश प्रसाद साह, सुनवर्षी-६ का ३७ बर्षीय नित्यानन्द सुतिहार र रंगेली–७ का ४६ बर्षीय उमेश पौदार छन् । पक्राउ परेका माथी आवश्यक कानुनी कारवाही भईरहेको छ ।