इटहरी : कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को निर्णय बिना नै जापान गएको विषयमा प्रश्न उठेपछि अधिकारीले राजीनामा दिएका हुन् । 
मुख्यमन्त्रीलाई जानकारी नगराई विना अनुमति अधिकारी जापान गएका थिए । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । 
मन्त्री स्तरको भ्रमणको क्रममा सामान्य कूटनैतिक मर्यादाको पनि पालना नभएको भन्दै प्रश्न उठेको छ । गत कार्तिक १३ गते जापान प्रस्थान गरेका उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा सहभागी भएका थिए । १७ गते नेपाल फर्किएका उनले आज मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा बुझाएका छन् ।
मन्त्रालयका पत्रकार सम्मेलनको आयोजना गर्दै उनले विगतमा आफूले गरेका कामको प्रगति विवरण सार्वजनिक गरे । जापानको कार्यक्रममा सहभागी नभएको जानकारी गराउँदै उनले नैतिकताको आधारमा राजीनामा दिएको बताए । लाइसेन्स वितरणमा सहजता पुर्‍याएको देखि विपद् व्यवस्थापनमा आफूले उच्च सतर्कताका साथ काम गरेको प्रस्ट पारे ।