धरान : तिहारमा देउसी खेलेर सङ्कलन गरेको २ लाख रुपैयाँ धरान-१७ का सचेत नागरिक समूहले प्रधानमन्त्री दैवि- प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।

समाजका देउसी भैलो कार्यक्रम संयोजक दयाराम थापाको अनुसार धरान-१७ वडावासीहरूले बाढी पीडितहरूलाई सहयोग गर्न १ दिन देउसी भैलो खेलेका थिए । उक्त कार्यक्रमबाट सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।

कोषको बैक खातामा रकम जम्मा गरेको भौचर धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई मनोज सहित इलाका प्रशासन कार्यालय धरानका अधिकृत प्रतीक राईलाई बुधवार समाजले हस्तान्तरण गरेको छ ।

अविरल वर्षाका कारण काठमाण्डौं उपत्यका सहित देशका विभिन्न स्थानमा भएको बाढी पहिरो डुबानका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतका लागि धरान-१७ वडावासीको तर्फबाट कोषमा जम्मा गरेको संयोजक थापाले बताए ।

एकद्वार प्रणाली मार्फत राहत तथा उद्धार कार्य होस भनी सचेत नागरिक समाजले कोषमा रकम जम्मा गरिएको उनले बताए । रकम जम्मा गरेको भौचर इलाका प्रशासन मार्फत प्रधानमन्त्री उद्धार कोषमा पठाउन हस्तान्तरण गरिएको उनको भनाई छ ।