इटहरी : कोसी प्रदेशका पुर्वमन्त्री लिलाबल्लभ अधिकारी कानुनी जानकार र सरल नेताको रूपमा चिनिन्थे । दुई पटक सम्म मोरङ २ (ख) बाट निर्वाचित उनी राज्यमन्त्री हुँदै फुल मन्त्री भए । नेकपा एमाले मोरङको प्रभावशाली नेताको रूपमा चिनिएका उनी नक्कली कागजात र ३० लाख लेनदेनको फण्डामा परेका छन् । 
जापान पुर्‍याइदिने भन्दै दलालले पैसा लिएको विषयमा अधिकारी नराम्रो सँगले डुबेका छन् । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान प्रहरीलाई दिएपछि विवादले प्रकरणको रूप लिएको हो । 
विमानस्थलबाट पक्राउ परेसँगै खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान प्रहरीमा दिए । तीन जनाले जम्मा तीस लाख बुझाएको बयान दिएपछि जापान पठाउनको लागि संलग्नहरूको खोजी प्रहरीले थालेको हो । 
आन्तरिक मामिला मन्त्रालयको नक्कली परिचयपत्र बनाएर जापान छिर्ने प्रयासमा रहेका युवाहरू टोकियो विमानस्थलबाट डिपोर्ट भए । नक्कली परिचयपत्रमा अधिकारीकै हस्ताक्षर भए पनि किर्तेमा पनि संलग्न भएको पाइएको छ । आफूले हस्ताक्षर नगरेको उनले दाबी गरेका छन् । 
शेर्पाले खोटाङस्थित ऐँशेलुखर्क गाउँपालिका वडा नम्बर २ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली परिचयपत्र बनाएका थिए । पुर्वमन्त्री अधिकारीले आफूसँग नक्कली कागजात बोकेका व्यक्तिहरू पनि जापान जान लागेको जानकारी भएपछि जापानको कार्यक्रम छाडेर नेपाल आएको बताए । बुधवार राजीनामा दिएका उनले आफैँ नेपाल फर्किएको बताए पनि जापान पुगेपछि डिपोर्ट भएका थिए । 
गत कार्तिक १४ गते मन्त्री अधिकारीसहित पाँच जनालाई जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । जापानबाट सँगै आएका नवलपरासीकी अनिता तिम्सिना र मन्त्री अधिकारीलाई भने प्रहरीले पक्राउ गरेन । 
अधिकारीलाई जोड्ने एजेन्टको रूपमा मोरङका युवराज गौतम हुन् । उनैले अधिकारीलाई एउटा कार्यक्रममा जापान जाने प्रस्ताव गरेका थिए । गौतमले धादिङका महेश पाण्डे मार्फत जापान जाने युवाको बन्दोबस्त मिलाएका हुन् । युवालाई चाहीने मन्त्रालयको परिचयपत्र समेत उनै पाण्डेले तयार पारेका हुन् । 
जापान जाने भएपछि फुर्किएका अधिकारी अन्ततः फन्दामा परेका छन् । मुख्यमन्त्री देखि आफ्नै मन्त्रालयका कर्मचारीले नजान सुझाव दिँदा समेत उनी जापान जान लोभिए । त्यही लोभमा परेका अधिकारी मानव तस्करीमा जोडिएका हुन् ।
पैसाको लेनदेनमा संलग्न पाण्डे र वीरबहादुर सुनार हुन् । जापान जाने तीन जनाबाट पाण्डेले १० लाख सुनारले २० लाख बुझेका थिए । त्यही ३० लाखको फण्डामा पुर्वमन्त्री अधिकारी फन्दामा परे । जापानमा कार्यक्रमको चाँजोपाँजो मिलाउने जिम्मा उनै पाण्डेले लिएका थिए । 
पाण्डेले कार्यक्रम मिलाएर मन्त्रीलाई अतिथि बनाएको र अन्य तीन जनालाई पनि सँगै पठाएको पाइएको छ । मानव तस्करी गिरोहमा आबद्ध पाण्डे र सुनारसहित नुवाकोटका जुगल रिजाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 
पाण्डेकै योजनामा तीन जनाको मोबाइलमा मन्त्रीको फोटो पठाइएको थियो । मुख्यतः फर्जी कागजात बनाउने खेलमा संलग्न भएका थिए उनी । अन्य फरार दुई जनालाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । जापानमा टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारीलाई जापान गएका थिए। 
पुर्वमन्त्रीको भूमिका प्रति नेकपा माओवादी केन्द्रले विज्ञप्ति निकालेर विरोध जनाएको छ । मन्त्री मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिङ्गो प्रदेश बासीको शिर निहुरिएको माओवादीको भनाइ छ । ‘उच्चपदस्थ व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशङ्का पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 
माओवादी केन्द्र कोसी प्रदेश प्रमुख सचेतक गीता तिम्सिना द्वारा जारी विज्ञप्तिमा नेपाली काँग्रेस र एमालेको गठबन्धन माफिया, भ्रष्ट, दलाल तथा गलत धन्दा चलाउने गिरोहको संरक्षणको लागि बनेको तथ्यलाई यो प्रकरणले थप उजागर गरेको बताइएको छ ।
Fake-ID-card-of-Janak-Rai