इटहरी : कोशीका पुर्वमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी काण्डमा मुछिएपछि सर्वत्र आलोचना भएको छ ।
नेकपा माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिङ्गो प्रदेशवासीको शिर निहुरिएको बताएको हो ।
सामान्य प्रक्रिया समेत पुरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार बेखबर हुनु शङ्कास्पद रहेको माओवादीको भनाइ छ । प्रदेशको मन्त्रीलाई जापान सरकारले विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गर्नु लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु र कर्मचारीले जापान नजान दिएको सुझाव मन्त्रीले अस्वीकार गर्नुले मानव तस्करी प्रकरणलाई प्रमाणित गर्न खोजेको माओवादीको बुझाइ छ । "उच्चपदस्थ व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशङ्का पैदा भएको छ," विज्ञप्तिमा भनिएको छ । 
नेपाली काँग्रेस र एमालेको गठबन्धन माफिया, भ्रष्ट, दलाल तथा गलत धन्दा चलाउने गिरोहको संरक्षणको लागि बनेको तथ्यलाई यो प्रकरणले थप उजागर गरेको बताइएको छ । 
"प्रदेश र देशकै स्वाभिमान गिराउने यो प्रकरणसँग जोडिएको मानव तस्करी तथा सरकारी कागजात किर्तेलगायतको विषयमा गम्भीर छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराउँछौँ," प्रमुख सचेतक गीता तिम्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
maobadi PR