धरान : प्रसिद्ध तीर्थस्थल मुक्कुमलुङ पाथीभरामा केवलकार बनाउने विषयमा चलिरहेको विवादका बिच हिजो शुक्रवार शिलान्यास कार्यक्रममा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनकै नेतृत्वमा आन्दोलनकारी माथि खुकुरी प्रहार भएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आरोप लगाएको छ ।

घट्नाको घोर निन्दा भर्त्सना गर्दै समितिले जारी गरेको विज्ञप्तिमा शिलान्यास गर्ने बहानामा मेयर अमिर मादेन, डम्बरध्वज तुम्बाहाम्फे, इन्द्र केदेम, मिना गुरुङ, सागर गौतम, गोपाल न्यौपाने लगायतको नेतृत्वको निर्देशनमा सर्वसाधारण अर्जुन लिम्बुमाथि खुकुरी प्रहार गरिएको ढुङ्गा प्रहार गरी चन्द्र मादेनको टाउको फुटाई दिएको आरोप लगाएको छ ।

वक्तव्यमा ‘खुकुरी लगायत धारिला हतियार बोकाएर टाउकोमा हेलमेट लगाइदिएर सुनियोजित रूपमा केही जत्था पुर्‍याई सुरक्षाकर्मीकै उपस्थितिमा मुक्कुमलुङ संरक्षण अभियन्ता माथि साङ्घातिक आक्रमण गराई गम्भीर घाइते बनाइएको’ उल्लेख छ ।

प्रहरी प्रशासनले आक्रमणकै लागि सुनियोजित रूपमा हतियार बोकेका आक्रमणकारीहरूलाई संरक्षण गर्दै उल्टै घाइते चन्द्र मादेनलाई पक्राउ गरी हात समेत भाचीदिएको बताइएको छ ।

वक्तव्यमा आक्रमणकारी र यसका निर्देशक नाइकेहरूलाई सरकारबाट तुरुन्त पक्राउ गरी कडा कानुनी कारबाहीको जोडदार माग गर्दै घट्नाको सम्पूर्ण जिम्मेवारी केवलकार कम्पनीका मालिक चन्द्र ढकाल, उसलाई साथ दिने सरकारले लिनुपर्ने चेतावनी दिँदै मुक्कुमलुङमा केवलकार खारेजी आन्दोलन जारी रहने अपिल गरिएको छ ।

Taplejung-cablcar-