इटहरी : नेपाली काँग्रेसका युवा नेताहरूले चलाएको युवा जागरण अभियान सुनसरी पुगेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत मेची महाकाली अभियान चलाएका नेताहरू सुनसरी पुगेका हुन् । युवा नेताहरूले काँग्रेसलाई युवासँग जोड्ने गरी अभियान चालिएको बताएका छन् ।
सुनसरीको इटहरीमा आयोजित सभामा नेताहरूले सम्बोधन गरेका छन् । युवाहरूका विभिन्न समस्या बोकेर अभियानमा निस्किएका अभियन्ताहरूले नेपाली काँग्रेसलाई युवा रोजगारीसँग जोड्नुपर्ने बताए ।
तरुण दलका पूर्व महामन्त्री भूपेन्द्रजङ्ग शाही, नेविसंघ पूर्व अध्यक्ष रञ्जित कर्ण, बिपी अध्ययन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वाङ, युवा नेतृ प्रेमीका राना सहित ५० जना युवा नेताहरू अभियानमा सामेल भएका छन् ।
युवाहरूको समस्या समाधानमा स्थानीय नेताहरूको सुझाव लिने र पार्टी नेतृत्व समक्ष पुर्याउने अभियानको उद्देश्य रहेको प्रतिष्ठानका अध्यक्ष नेम्वाङले बताए ।
झापाको मेचीनगरबाट सुरु भएको अभियान मोरङको बेलबारी हुँदै शनिवार सुनसरीको इटहरी पुगेको हो । आइतबार सप्तरीको लहानमा कार्यक्रम गर्ने योजना रहेको बताइएको छ । अभियानका लागि १० बुँदे एजेन्डा तय गरिएको छ ।
युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मुलन र सुशासन, महँगी र मूल्यवृद्धि नियन्त्रण, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही राखिएको छ ।
साथै, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, नागरिकमैत्री सरकार, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत र नैतिक मूल्य मान्यतामा आधारित राजनीति माथि छलफल र अन्तरक्रिया भएको नेम्वाङको भनाइ छ ।





































































