धरान : प्रधानमन्त्री तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीबाट आज आयोजित १३औँ दीक्षान्त समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

समारोहमा भारतका शिक्षाविद् प्रा.डा. ज्योतिर्मोय पल प्रमुख अतिथि थिए । सहकुलपति  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल समारोहमा उपस्थित थिए । प्रतिष्ठानको दीक्षान्त समारोह ८ वर्षमा भएको हो ।

दीक्षान्त समारोहमा उक्त अवधि सन् २०१० देखि २०१७ ब्याचमा एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङका विद्यार्थी दीक्षित भएका हुन । दीक्षित हुनेमा २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि लिएका विद्यार्थीहरू छन् ।

समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कार प्रदान गरिएको थियो । सहकुलपति स्वास्थ्य मन्त्री पौडेलले प्रतिष्ठानमा निर्माण भएको एमसीएचको सेवा फागुनदेखि सञ्चालन हुने तयारी भएको बताए । उनले अंकियोलोजी र कार्डियोलोजी सेवा चाँडे सुरु हुने प्रक्रियामा रहेको उल्लेख गरे ।

प्रतिष्ठानले स्थापना भए यता विविध विषयका ५ हजार ४९७ जना जनशक्ति उत्पादन गरेको छ । प्रतिष्ठानमा हाल कुल विद्यार्थी सङ्ख्या १६४१ मा ८४३ छात्र र ७९८ छात्रा छन् । त्यस मध्ये नेपाली विद्यार्थी १ हजार ५५८ र विदेशी ८३ जना छन् ।

दीक्षान्त समारोहमा दिइएको जानकारी अनुसार प्रतिष्ठानको स्वास्थ्योपचार सेवाबाट कोशी र मधेस प्रदेश सहित मित्र राष्ट्र भारतको सीमावर्ती क्षेत्र विहार, पश्चिम बङ्गालका जनता लाभान्वित हुँदै आएका छन् ।

दैनिक ४ हजार सम्मको सङ्ख्यामा प्रतिष्ठानमा बिरामीहरू उपचारका लागि आउने गरेका छन् । स्थापना कालमा १५० बेड रहेको अस्पताल विस्तार हुँदै हाल ९१३ बेड पुगेको छ । प्रतिष्ठानमा मेडिकल तथा डेन्टल लगायतका विधामा विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान हुँदै आएको छ ।

मुटु रोगको क्याथ ल्याब, मुटुको शल्य चिकित्सा सेवा उपलब्ध छ । आइसियुको कमी भएकोले उपचारमा अप्ठ्यारो हुँदा आइसियु बेड ३२ बाट ४२ बेड थप गरी ७४ पुर्‍याइएको छ । डायलिसिस सेवामा २० बेड थप भई सञ्चालनमा छ ।

इमर्जेन्सी वार्डमा थप मनिटर जडान गरी सेवाको विस्तार गरिएको छ । निर्माणाधीन भवनहरूमा अक्सिजन पाइप लाइन सहितको थप ४० वटा जनरल बेड थपिने छन् । अस्पतालमा ८ वटा आइसियु र एचडियु बेड राख्ने योजना सहित इमर्जेन्सी सेवाको विस्तार गरिएको जनाइएको छ ।