इटहरी : कोशी प्रदेशमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले) बिच दुई दलीय संयन्त्र गठन भएको छ । कोशी प्रदेश सरकार र स्थानीय सरकारका गतिविधिलाई प्रभावकारी बनाउन संयन्त्र गठन गरिएको हो ।

संयन्त्रको पहिलो बैठक कार्तिक २७ गते बुधवार एमालेका कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको छ । बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता एमाले र काँग्रेसले पालैपालो गर्ने निर्णय भएको छ ।

काँग्रेसको तर्फबाट प्रदेश सभापति उद्धव थापाले तोके अनुसार महामन्त्री उमेश थापालाई संयन्त्र सदस्यमा थप गरिएको छ । जनमुखी, सुशासनयुक्त सरकार बनाउन अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न जिल्लाका सबै संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरिने भएको छ । सोही अनुसार प्रदेश संयन्त्र र प्रदेशका मन्त्रीहरू सँग मङ्सिर १४ गते शुक्रवार विराटनगरमा छलफलको आयोजना गरिने भएको छ ।

प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ता भित्र जिल्ला संयन्त्र गठन गर्ने र १४ वटै जिल्लाका सदस्यहरूको संयुक्त बैठक मङ्सिर २९ गते शनिवार विराटनगरमा गर्ने निर्णय भएको छ ।

बुधवारको बैठकमा नेकपा एमालेको तर्फबाट राई सहित मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा सहभागी थिए । नेपाली काँग्रेसका सभापति थापाले सहभागिता जनाएका हुन् ।

dal-samyantra