धरान : धरान-१२ स्थित पब्लिक हाई स्कुलले कक्षा १२ विज्ञान विषयका विद्यार्थीहरूलाई रक्त समूह (ब्लड ग्रुप) छुट्याउने प्रयोगात्मक प्रशिक्षण दिएको छ ।

रक्त समूहको परिभाषा, ए, बी, एबि र ओ रक्त समूहका विशेषताहरू र उनीहरूको सापेक्षता बारे विस्तृत जानकारी सहित विद्यार्थीलाई बिहीबार प्रयोगात्मक प्रशिक्षण दिइएको प्रधानाध्यापक डा.इन्द्र मोहन झाले बताए ।

प्रशिक्षणमा विद्यार्थीहरूलाई रक्त परीक्षणका विधिहरू एन्टीबॉडी र एन्टीजेनको प्रयोग गरी रक्त समूह छुट्याउने प्रयोगात्मक प्रदर्शन विज्ञान शिक्षक किशोर चौधरीले गरेका थिए । ल्याब असिष्टेन्ट योगिता गुरुङले ब्लड ग्रुपिङ गर्न समूहगत अभ्यासको सहजीकरण गरेकी थिइन् ।

विज्ञान र इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठका अनुसार रक्तको विभिन्न समूह र त्यसका महत्वबारे जानकारी गराउन पाठ्यक्रम अनुसार तालिम कक्षा सञ्चालन गरिएको बताए ।

उनले भने ‘प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थीहरूले रक्त समूहसँग सम्बन्धित जानकारी प्रत्यक्ष रूपमा पाएका छन् ।’ प्रशिक्षणमा शिक्षकद्वारा रक्त सञ्चार, रक्तको दान र प्राप्तिका बारेमा व्याख्या गरिएको थियो।

प्रयोगात्मक कक्षाले १२ कक्षाका विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान पनि पाएको प्रधानाध्यापक झाले बताए । उनले भने ‘विद्यार्थीहरूको प्रयास सराहनीय थियो, आगामी दिनमा प्रयोगात्मक कक्षाहरू जारी राख्छौँ ।’

public-School-2