धरान : बेलायतका लागि नेपालको राजदूत नियुक्त धरानका चन्द्र घिमिरेका बुवा ९७ वर्षीय नरनाथ घिमिरे र आमा ७८ वर्षीय नेत्र कुमारी घिमिरेले पब्लिक हाइस्कुल, धरान-१२ मा ६ लाख ५१ हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिदिएका छन् ।

छोरा चन्द्र घिमिरे पब्लिक हाई स्कुलकै विद्यार्थी हुन । यहीँबाट एसएलसी पास गरेको उनी सरकारको सचिव तह सम्म पुगी हाल राजदूतको ओहदा सम्म पुगेकाले छोरा जस्तै जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरिएको नरनाथ घिमिरेले बताए ।

‘नरनाथ–नेत्रकुमारी घिमिरे छात्रवृत्ति कोष’को लागि ६ लाख ५१ हजार रुपैयाँको चेक छोरा चन्द्र घिमिरे र बुहारी सरिता घिमिरे समेतको हातबाट बिहीबार प्रधानाध्यापक डा.इन्द्र मोहन झा, व्यवस्थापन समिति अध्यक्ष हरि कार्कीले बुझिलिएका छन् ।

धरान-१० निवासी भूपू भारतीय सैनिक वयोवृद्ध नरनाथ घिमिरेले आफ्नो पेन्सन कोषमा जम्मा रकम निकालेर कोषका लागि विद्यालयलाई प्रदान गरेको छोरा चन्द्र घिमिरेले बताए । प्रधानाध्यापक झाका अनुसार सोही अवसरमा कोषलाई व्यवस्थापन, सञ्चालन गर्ने सम्झौता-पत्रमा पनि दुवै पक्षबाट हस्ताक्षर भएको छ ।

कोषको बैंंक व्याजबाट प्राप्त हुने रकम विद्यालयमा कक्षा ११ का उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सम्झौतामा उल्लेख भएको विद्यालयका मोहन श्रेष्ठले बताए ।