धनकुटा : एभोकाडोको व्यवसायीक उत्पादन प्रवर्द्धन गर्न धनकुटामा मङ्सिर ४ गते एक दिने स्थानीय एभोकाडो प्रदर्शनी गरिने भएको छ ।
प्रदर्शनी धनकुटा नगरपालिकाले आयोजना गर्न लागेको हो ।
प्रदर्शनीमा एभोकाडो सहित धनकुटा जिल्लाको स्थानीय उत्पादनहरूको व्यवसायीक प्रवर्द्धनका लागि स्टलहरू राखिने छन् । प्रदर्शनीबाट कृषक उद्यमीहरूलाई प्रोत्साहन एवं व्यापारिक बजार प्रवर्द्धन हुने धनकुटा नगर प्रमुख चिन्तन तामाङले बताए ।
प्रदर्शनी नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजना गरिने छ । बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा एभोकाडोका साथै स्थानीय उत्पादनहरूको बिक्री एवं व्यापारिक कारोबार हुने बताइएको छ ।
प्रदर्शनीमा एभोकाडोको व्यवसायीक उत्पादन, बजारीकरण तथा स्थानीय कृषकहरूलाई कृषि उत्पादनका उद्यमशीलता विकास सम्बन्धी परामर्शको कार्यक्रम पनि राखिएको छ । स्थानीय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।
प्रदर्शनीमा कृषकहरूलाई उनीहरूका उत्पादन प्रदर्शन तथा विक्री वितरणका लागि नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए ।
नगरपालिकाले कृषकहरूलाई उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणमा भाग लिन तथा व्यवसायीहरूलाई लाई मङ्सिर २ गतेभित्र कार्यालयमा सम्पर्क राखी स्टल बुक गर्न सूचना जारी गरेको छ ।
प्रदर्शनी कृषक, उत्पादक, व्यवसायी, विज्ञ तथा लगानीकर्ताको एकै ठाउँमा भेटघाट तथा अन्तरक्रियाको अवसर बन्ने विश्वास गरिएको नगरपालिकाले जनाएको छ ।
प्रदर्शनीबाट स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने भएकोले प्रदर्शनी सफल बनाउन सहभागीताका लागि नगरवासी, कृषक सबैलाई आव्हान गरिएको छ ।