धरान : पूर्वमा सबैभन्दा बढी गाँजाको उत्पादन र भारततर्फ अवैध निर्यात हुने धनकुटा जिल्लाको गाँजा व्यापारलाई बोटैमा नष्ट गर्ने अभियानमा प्रहरीले १ लाख ८७ हजार बोट फडानी गरेको जनाएको छ ।

गाँजाको अवैध निकासीसँगै भारतीय लागूपदार्थको बजारबाट नेपालमा ब्राउनसुगर भित्रिने गरेको छ । गाँजाको उत्पादन र निकासी नियन्त्रण गर्न सके लागुऔषधको अवैध पैठारी न्यूनीकरण हुने आशा गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा खेती नष्ट गने अभियान सुरु गरेपछि इलाका प्रहरी कार्यालयहरूले स्थानीय सरकारसँगको समन्वयमा गाँजाका बोटहरू फडानी गर्ने एक्सन जारी राखेका छन् ।

यसै क्रममा गाँजा खेती नष्ट गर्न धनकुटा प्रहरीले सक्रियता लिएको हो । धनकुटाको महालक्ष्मी नगरपालिका, शहिदभुमि गाउँपालिका र पाख्रिवास नगरपालिकामा अवैध रूपमा लगाइएको गाँजा धनकुटा प्रहरीले नष्ट गरेको छ ।

चालु आर्थिक वर्षको कार्तिक अन्तिम सम्ममा धनकुटा जिल्ला प्रहरीले ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाँजाको बोट नष्ट गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार गाँजाको बेर्ना र बोट नष्ट गर्ने तयारी गाँजा नियन्त्रणमा कडाइ गरेको छ ।

अभियान अन्तर्गत प्रहरीले सहीदभूमि गाउँपालिकाको आँखीसल्ला, आँखुटार, त्रिवेणी, साँगुरीगढी गाउँपालिकाको मुक्तेन, आहाले, चाँदीबजार, गोलखाँडी क्षेत्रमा गरिएका गाँजा खेती नष्ट गरेको धनकुटा प्रहरीका एसपी श्यामसिंह चौधरीले बताए ।

उनका अनुसार साउन महिनामा ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाँजाको बोट नष्ट गरिएको हो । उक्त अवधिमा ६५ जना प्रहरी परिचालन गरिएको थियो ।

साउन १३ गते धनकुटाका १५ रोपनी जग्गामा लगाइएको २५ हजार ७०० गाँजाको बोट नष्ट गरेको थियो । साउन १४ गते ८ रोपनीको २६ हजार बोट नष्ट गरेको थियो ।

यसैगरि साउन १७ गते २५ रोपनीको ४० हजार गाँजा नष्ट गरिएको थियो । १८ गते १० रोपनी जग्गाको १७ हजार गाँजाको बोट नष्ट गरिएको थियो ।  

यसैगरी असोज महिनामा ३९ दशमलव ५ रोपनी जग्गाको २३ हजार ९८० बोट नष्ट गरेको थियो । असोज २१ गते १६ दशमलव ५ रोपनीको ९ हजार ९०० बोट नष्ट गरिएको थियो । असोज २२ गते २३ रोपनीको १४ हजार ८० बोट नष्ट गरिएको थियो ।

गत कात्तिक महिनामा सबैभन्दा बढी गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । कात्तिक महिनामा धनकुटाका विभिन्न स्थानमा १२९ रोपनीमा लगाइएको ९७ हजार ७५० वटा गाँजाका बोट नष्ट गरिएको छ ।

जिल्ला प्रहरी अनुसार कात्तिक ८ गते ३ रोपनी जग्गामा लगाइएको ७ हजार गाँजाको बोट ४ जना नष्ट गरिएको थियो । कात्तिक २१ गते १६ रोपनीको ४ हजार ५०० बोट नष्ट गरिएको थियो ।

कात्तिक २२ गते ७ रोपनीको १५ हजार बोट, २३ गते २६ रोपनीको २४ हजार ४०० बोट, २५ गते ३२ रोपनीको १३ हजार १०० बोट, २६ गते ३० रोपनीको १४ हजार ६०० बोट र २७ गते १ रोपनीको १५० बोट नष्ट गरिएको थियो ।