धरान : नेपाल-भारत सीमाबाट भन्सार छलेर तस्करीबाट ल्याइएको १० लाख रुपैयाँ बढी मूल्यको लत्ता कपडा लुकाइएको गोदाममा प्रहरीले आइतबार छापा मारेर बरामद गरेको छ ।

विराटनगर स्थित भन्सारमा घरायसी किनमेलका सामानहरूलाई मात्र कडाइ गरिने ठुला तस्कर नियन्त्रण नगरेको गुनासो बढेको बेला गोदाममै छापा मारेर तस्करीका सामाग्री पक्राउ गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार १० लाख ६ हजार ४०० रुपैयाँ अन्दाजी मूल्याङ्कन गरिएको बरामद लत्ता कपडा विराटनगर-१५ बस्ने आनन्दकुमार साहले भन्सार छलेर ल्याई गोदाममा लुकाएर राखेको हो ।

साह विराटनगर-२ कमल पोखरी टोलका बद्री ढकालको घरमा कोठा भाडामा बस्दै आएका छन् । मोरङ जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाको आधारमा सोही घरको गोदामबाट उक्त लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीले ढकालको घरमा स्थानीय जनप्रतिनिधि, घर धनी समेतको उपस्थितिमा घर कोठा खानतलासी गरेको थियो । खानतलासी गर्दा घरको पहिलो तलाको कोठामा लुकाई छिपाई राखेको अवस्थामा लत्ता कपडाहरू गरी १० लाख ६ हजार ४०० मूल्य बराबरको सामानहरू बरामद गरिएको बताइएको छ ।

पक्राउ गरिएका लत्ताकपडा आवश्यक अनुसन्धान गरी कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय रानी बुझाएको छ ।

यसै बिच प्रहरीले भारतबाट नेपाल ल्याउँदा भन्सारमा कम दर रेट कायम गरी बिल विजक भन्दा बढी मूल्यको सामान पनि पक्राउ गरेको छ ।

विराटनगर-१५ रानी रोडशेष सडक खण्डको नेपाल टेलिकम अगाडी भारतबाट नेपाल ल्याउँदै गरेको एइडी लाइट र लत्ताकपडाको वास्तविक मूल्य १५ हजार रुपैयाँ भएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका सामानहरू आवश्यक अनुसन्धान गरी कारबाहीको लागि प्रहरीले आन्तरिक राजश्व कार्यालय इटहरीको जिम्मा लगाएको छ ।