झापा : झापा उद्योग वाणिज्य सङ्घ गौरीगञ्जको अध्यक्षमा रूपककुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
सङ्घको नयाँ नेतृत्व चुन्नका लागि सोमबार भएको निर्वाचनबाट श्रेष्ठले १५५ मत ल्याई अध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी रमेशप्रसाद राजवंशीले १२२ मत प्राप्त गरेका थिए ।
यसैगरी, उद्योग उपाध्यक्षमा विनोद कुमार साह (१३८) मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष मेहताले १२० र गणेश चौधरीले १३ मत ल्याएका थिए । त्यस्तै, वाणिज्य उपाध्यक्षमा १५४ मत ल्याएर मनोजकुमार दास विजयी भए भने उनका प्रतिस्पर्धी मनोजकुमार चौधरीले ११९ मत प्राप्त गरे ।
सचिवमा पवनकुमार दास (१५४ ) विजयी हुँदा उनका प्रतिद्वन्द्वी धर्मनारायण गिरीले ११६ मत पाए । उद्योग उपसचिवमा चन्द्रप्रकाश नायक विजयी भए । उनले १४४ मत पाए भए भने उनका प्रतिद्वन्द्वी उद्धव गौतमले १२६ मत पाए ।
यसैगरी, वाणिज्य उपसचिवमा चन्दनकुमार दास विजयी भए । दासले १६० र उनका प्रतिद्वन्द्वी पाण्डव झाले १०७ मत प्राप्त गरेका थिए । यस्तै, कोषाध्यक्षमा सम्झना अधिकारी अग्रवालले १५२ मत ल्याई विजयी भइन् भने उनका प्रतिस्पर्धी नसिर उद्दिनले १०१ मत पाएका थिए ।
यसैगरी, सदस्यहरूमा नीरजकुमार साह (१६९), अभिषेक साह (१३३), इन्द्रकान्त दास (१२३), श्यामाल शर्मा (११६), सङ्गीतलाल हलुवाई (१११) मत ल्याएर निर्वाचित भए । ५ सदस्य पदमा १२ जना उम्मेदवार थिए ।
यस्तै, दुई महिला सदस्यमा पूर्णिमा कुमार साह (१४८) र आरतीकुमारी करारले १२३ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका संयोजक गोविन्द घिमिरेले जानकारी दिए ।
बिहान ११ बजेदेखि सुरु भई अपराह्न ३ बजेसम्म मतदान भएको थियो । मतदान गौरीगञ्ज-३ स्थित सङ्घको आफ्नै भवनमा भएको थियो । सङ्घको अध्यक्षसहित कार्यसमितिका विभिन्न १४ पदका लागि ३१ जना निर्वाचनमा होमिएका थिए । निर्वाचनमा सङ्घमा आबद्ध ३१२ जना मत मध्ये २८४ मत खसेको थियो ।